नेपाल टी-२० क्रिकेट लिगमा म्याच फिसिङको आरोपमा क्रिकेटर आलम र अन्सारी पक्राउ

विराटगर । म्याच फिसिङमा संलग्न भएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई सोमबार पक्राउ गरेको छ ।

नेपाल टी–२० क्रिकेट लिगको खेलमा उनीहरुले म्याच फिसिङ गरेको सीआईबीको दाबी छ । म्याच फिसिङमा संलग्न भएको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खेलाडीमाथि अनुसन्धान गरेको थियो ।

पूर्वक्रिकेटर आलमलाई सोमबार दिउँसो १ बजे विराटनगरमा पक्राउ गरी विमानबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

यस्तै अन्सारीलाई सप्तरीको राजविराजबाट सीआईबीकै टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । सीआईबीले पुस ९ देखि २७ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा भएको प्रतियोगितामा ‘स्पट फिक्सिङ’ गरेको सूचनाका आधारमा अनुसन्धान गरिरहेको छ । खेल मिलेमतो भएको विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि छुट्टै समिति बनाएर छानबिन गरिरहेको छ । यस विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले पनि छानबिन गरिरहेको छ ।

क्यानले यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी भारतको सेभन थ्री स्पोर्ट्सलाई दिएको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रतियोगितामा ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति: २०२३-०१-२३ , समय : २२:३५:०६ , २ वर्ष अगाडि