महिला तथा पुरुष लिग भलिबल आषाढ अन्तिम साता

काठमाडौंः नेपाल भलिबल संघको आयोजनमा हुने सातौं प्रधानमन्त्री कप – एन. भि. ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग–२०८० आषाढ अन्तिम साता हुने भएको छ ।

राजधानीमा आज पत्रकार सम्मेलन गर्दै नेपाल भलिबल संघले बार्षिक कार्यक्रम (२०७९/८०¬) अनुरुप नेपालको राष्ट्रिय खेल भलिबललाई बृहत रुपमा विकास, विस्तार र प्रवर्धन गर्दै र ब्यावसायीकरण गर्दै लैजाने नीति अनुरुप यही मिति २०८० आषाढ २३ देखि ३० गते सम्म सातौं प्रधानमन्त्री कप – एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग गर्न गईरहेको जनाएको हो ।

लिगमा गत माघ महिनामा सम्पन्न क्लब च्याम्पियनसिपबाट छनौट भएका पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको ए.पि.एफ. क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब – काठमाण्डौ, केशवलाल स्मृती प्रतिष्ठान, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बागढुङ्गा स्पोर्टस् क्लब – रामेछाप गरि ८ क्लबहरु र महिला तर्फ नेपाल प्रहरी, होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब – बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।

च्याम्पियनसिपमा सहभागी पुरुष तर्फ १५ र महिला तर्फ ८ टिमको प्रतिस्पर्धाबाट लिगका लागि पुरुष तर्फ ८ र महिला तर्फ ६ टिमको छनौट गरिएको थियो । लिगमा एक टिमबाट तीन बिदेशी खेलाडीले प्रतिस्पर्धामा सहभागिता जनाउन पाउने समेत पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

लिगमा विजयी हुने टोलीले आगामी डिसेम्बर (नेपाल भलिबल संघले प्रस्ताव गरे अनुसार) मा नेपालमा आयोजना हुने CAVAपुरुष क्लब च्याम्पियनसिपमा सहभागिता जनाउने संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले पत्रकार सम्मेलनमा जानकारी गराए ।


अनुमानित ७५ लाख खर्च हुने लिगमा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरुले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् । त्यस्तै उक्त प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले रु. ३५ /३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनाही रु. १५/१५ हजार प्राप्त गर्ने छन् ।

राष्ट्रिय खेलकुद परिषद्बाट लिग संचालनका लागि रु. ४० लाख सहयोग भएको छ भने माछापुच्छ«े बैकले १ लाख ५० हजार, संघका पूर्व उपाध्यक्ष रञ्जन खड्काले शेरबहादुर खड्का प्रतिष्ठानको तर्फबाट उत्कृष्ट खेलाडीहरुलाई प्रदान गरिने पुरस्कार रकम ७५ हजार र पूर्व अध्यक्ष मनोरञ्जन रमण शर्माले ५० हजार सहयोग गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो । यस्तै मेडिया पार्टनर हाम्रो खेलकुदले प्रतियोगिताको प्रत्यक्ष प्रसारणका साथै सम्झौता बमोजिमको आर्थिक सहयोग गर्ने समेत पत्रकार सम्मलेलनमा अध्यक्ष चन्दले बताए ।

 

प्रकाशित मिति: २०२३-०६-२६ , समय : २०:४०:३६ , २ वर्ष अगाडि