चलचित्र कलाकार संघको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष रेजिना उप्रेतीद्वारा आफ्नो प्यानलका सदस्य सार्वजनिक

काठमाडौं ।नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमिति चयनका लागि यही चैत ४ गते हुने निर्वाचनमा संघकी वर्तमान उपाध्यक्ष नायिका रेजिना उप्रेतीले अध्यक्षमा उम्मेद्वारी दिएकी छिन् । बुधबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो समूहको अन्य उम्मेद्वारको नाम सार्वजनिक गरेकी छिन् ।

उनको समूहबाट उपाध्यक्षद्वयमा शिवहरि नेपाल ‘वैरागी’ र सरिता गिरी रहेका छन् । यसैगरी महासचिवमा पनाह अधिकारी, सचिवमा जीवन थापा र कोषाध्यक्षमा विनोदकुमार भट्टराई रहेका छन् ।

सदस्यहरुमा रञ्जना खड्का (खुस्बु खड्का), खिन्न भण्डारी (भोला) निर्मल स्याङतान (बुद्धिमान), नितु कोइराला गौतम, दिनेश अवाल, दिलबहादु दोङ (डिबी) ईश्वरबल्लभ उप्रेती, भीमसेन बजगाईं, राजकुमार कार्की, लक्ष्मण चौलागाई (खिम्ते काका), राजेश गोसार्इं रहेका छन् ।

अग्रज कलाकारहरु मदनदास श्रेष्ठ, नरेश पौड्याल, अभिनेता रमेश उप्रेती, निर्देशक नारायण पुरी, निर्देशक शोभित बस्नेत, अभिनेत्री पल्पसा डङ्गोल, गीता नेपाल, सम्राट सापकोटा, सीताराम पोखरेलसहित थुप्रै कलाकारहरुले रेजिनाको टिमलाई जिताउन कार्यक्रममा उपस्थित भएर अपिल गरे ।

अढाई दशकदेखि अभिनेत्रीको रुपमा नेपाली चलचित्र क्षेत्रमा उप्रेती क्रियाशील रहेकी छिन् ।

आफ्नो समुहको चुनावी घोषणपत्र सार्वजनिक गर्दै संघमा निर्वाचित भएको दिनबाटै सुझाव पेटिका राखेर सोही अनुसार काम शुरु गर्ने बताउँदै उनले विभिन्न ११ शीर्षकमा करिब ३० वटा योजनाहरु सो कार्यक्रममा सार्वजनिक गरिन् । आफूहरुले पूरा गर्न सक्ने भएकाले यी ३० वटा योजनाहरु सार्वजनिक गरेको पनि उनले बताइन् ।

सो घोषणा कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवारद्वय वैरागी र गिरी, महासचिव पदकी उम्मेद्वार अधिकारी, सचिव पदका उम्मेद्वार थापा र कोषाध्यक्ष पदका उम्मेद्वार भट्टराईले पनि आफ्नो उम्मेदवारीबारे प्रकाश पार्दै संघमा गएपछि गर्ने कामप्रति प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति: २०२३-०३-१६ , समय : ११:१३:१८ , २ वर्ष अगाडि