
काठमाडौं । महिला टी-२० आई शृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ । काठमाडौंमा बिहीबारदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२० आई शृंखला सुरु भएको हो ।
पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ । नेदरल्याण्ड्सले दिएको १५८ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सीता रानामगरले सर्वाधिक २८ रन बनाइन् । ४५ बलको सामना गरेकी सीताले तीन चौका प्रहार गरिन् । त्यस्तै कविता जोशीले २७ तथा पूजा महतोले २४ रन बनाइन् ।
नेदरल्याण्ड्सका लागि इभा लिन्च र क्यारोलिन डे लाङले २-२ विकेट लिए । आइरिस विलिङ र फ्रेडरिक ओभरडाइकले १-१ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि रोबिन रिकेले अविजित अर्धशतकीय पारी खेलिन् । उनले ४८ बलमा ८ चौकासहित ५९ रन बनाइन् । त्यस्तै आइरिस विलिङले १३ बलमा ३१ रनको फिनिसिङ पारी खेलिन् ।
नेपालका लागि कविता कुँवर, पूजा महतो, सीता रानामगर र ईश्वरी विष्टले एक-एक विकेट लिए । बुधबारको खेलबाट नेपालका लागि एलिशाकुमारी यादव र मनिषा उपाध्यायले डेब्यु समेत गरे ।
महिला टी-२० आई शृंखलामा सबै टोलीले एकअर्कासँग तीन-तीन खेल खेल्नेछन् । नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्दैछ ।
प्रकाशित मिति: २०२५-०१-३० , समय : १६:४९:४५ , ४ महिना अगाडि