बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेड विजयी

धरान । अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करण शनिबारदेखि शुरु भएको छ । धरान–१६ स्थित धरान रंगशालामा आयोजित प्रतियोगिताको उदघाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विजयी बनेको छ ।
विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै चर्च ब्वाइज विजयी बनेको हो । खेलसँगै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो । चर्च ब्वाइजका सन्तोष खत्रीले दोस्रो हाफको दोस्रो मिनेटमा निर्णायक गोल गरेका थिए । उनले म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पारे ।

यसअघि २५ औं रजत जयन्तिका अवसरमा ५ पाउन्डको केक काटिएको थियो । कार्यक्रमा हिमशिखर बोर्डिङ स्कुल तरहराका ८० जना विद्यार्थीहरूले सामूहिक नृत्य पस्किनुका साथै विद्यार्थीहरुले मार्चपास गरेका थिए ।


कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले खेल खेलेर बाँच्न सक्ने आधार तयार गर्न सरकार तातिरहेको बताए । उनले यसका लागि असल नीति पहलकदमी थालेको समेत जानकारी दिए ।

कार्यक्रममा बोल्दै पूर्वराष्ट्रिय खेलाडी साथै धरान फुटबल क्लबका पूर्व अध्यक्ष अध्यक्ष किशोर राईले शुरुआती समयमा खेलाडी हुँदा धरानमा एउटा गोल्डकप बनाउँछु भनेर सपना बोकेर हिँडेको र त्यो आज पूरा हुँदै गएको बताए । उनले धरान बुढासुब्बा गोल्डकप एउटा प्रतिष्ठाको रूपमा उभिएको बताउँदै अबका दिनमा धराने खेलाडीले राष्ट्रिय, अन्तर्राष्ट्रिय खेल हुँदा विश्वकप खेलाउनसक्ने खेलाडी उत्पादन गर्न आफूहरु सक्दोरुपमा लागिपरेको समेत बताए ।

२०५५ सालमा सालमा धरान फुटबल क्लबको स्थापना गरी २०५५ सालदेखि बुढासुब्बा गोल्डकपको आयोजना गरी निरन्तर सञ्चालन हुँदै आएको एक मात्र प्रतियोगिताले धरानलाई खेलकुलको शहर भनेर परिचित गराउन मुख्य भूमिका खेल्दै आएको उनले बताए ।
उद्घाटन खेलमा दर्शकहरूको भव्य उपस्थिति थियो । आयोजक धरान फुटबल क्लबले रजत महोत्सवको रुपमा आयोजना गरेको गोल्डकपमा भारत र भुटानका दुईसहित ८ टिमले सहभागिता जनाएका छन् ।आइतबारको खेल आयोजक धरान फुटबल क्लब र युकेएफसी भारतबीच हुनेछ ।

प्रतियोगितामा १० वटा क्लब सहभागी छन् । प्रतियोगितामा एनआरटी क्लब काठमाडौं, लिग च्याम्पियन चर्च ब्वाइज क्लब, नेपाल पुलिस क्लब, भुटान फुटबल एकाडेमी, त्रिभुवन आर्मी क्लब, इटहरी जागृती क्लब, युके एफसि भारत, मच्छ्रिन्द्र क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र धरान फुटबल क्लब छन् ।

प्रतियोगिताका विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउनेछन् । यसमा उत्कृष्ट खेलाडीले नगद एक लाख र प्रत्येक खेलको प्लेयर अप दि म्याच हुनेले १५ हजार सर्वाधिक गोलकर्ताले ३५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए ।

प्रकाशित मिति: २०२५-०२-०१ , समय : २०:०१:०८ , ४ महिना अगाडि