फ्यानलाई ओठमा किस गरेपछि उदितनारायण आलोचित

काठमाडौं । कन्सर्टमा महिला फ्यानलाई चुम्बन गरेपछि गायक उदितनारायण झा विवादमा तानिएका छन् । ३१ जनवरीको राति भएको कन्सर्टमा एक महिला फ्यानले सेल्फी खिच्ने क्रममा उदितको गालामा चुम्बन गरेकी थिइन् । त्यसपछि उदितले ती महिलाको ओठमा चुम्बन गरेका थिए ।

उक्त घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । भिडिओ बाहिरिएसँगै उदितको आलोचना भइरहेको छ ।

चर्को आलोचना भएपछि उदितले स्पष्टीकरण दिएका छन् । उनले कतिपय फ्यानमा पागलपन हुने र यसमा त्यति ध्यान दिन नहुने बताएका छन् ।

‘फ्यानमा यति धेरै पागलपन छ । हामी यस्तो छैनौं, हामी सभ्य छौं । केही मानिसहरूले यसको माध्यमबाट आफ्नो माया व्यक्त गर्छन् । यस्तो कुरालाई उडाएर के गर्नु ?’ उनले भने, ‘भीडमा धेरै मानिस थिए र हामीसँग अंगरक्षक पनि थिए । फ्यानले हामीलाई भेट्ने मौका पाउनुपर्छ जस्तो लाग्छ । यस्तो अवस्थामा कोही हात मिलाउन हात फैलाउँछन्, कोही हात चुम्बन गर्छन् । यो सब क्रेज हो, यसमा त्यति ध्यान दिनुहुन्न ।’

प्रकाशित मिति: २०२५-०२-०२ , समय : १६:४२:०२ , ४ महिना अगाडि