
धरान । भुटानको आरटीसी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।
धरान रङ्गशालामा आज भएको पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले आरटीसी क्लबलाई ७–० गोलले हरायो । चर्च ब्वाइजका समिर तामाङ र अर्मान्ड बेदोङ्गले ह्याट्रिक तथा पदम भट्टराईले १ गोल गरे । चर्च ब्वाइजका लागि खेलको २१ मिनेटमा समीर तामाङले सुरूआती गोल गरे । उनले आबायोमी फाकुन्लेको पासमा गोल गरेका थिए ।
यसैगरी २७ मिनेटमा चर्च ब्वाइजका लागि अर्मोन्ड बेड्युमले थप १ गोल गरे । लगत्तै २८ मिनेटमा पदम भट्टराईले अर्को गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा ३–० गोल अन्तरले अग्रता लिएको चर्च ब्वाइजका लागि खेलको ४९ औँ मिनेटमा रोहन कार्कीको कर्नरमा अर्मोन्ड बेड्युमले थप १ गोल गरे ।

यसैगरी खेलको ५१ मिनेटमा समीर तामाङको पासमा उनै अर्मोन्ड बेड्युमले थप १ गोल गरे । यससँगै अर्मोन्डले ह्याट्रिक गरेका थिए ।
खेलको ५५ औँ मिनेटमा समीर तामाङको प्रहार गोलमा परिणत भयो । खेलको ८५ मिनेटमा उनै समीर तामाङले थप १ गोल गरे । यससँगै उनले ह्याट्रिक गरे । सुरूदेखि नै दबाबमा रहेको भुटानले सान्तवना गोलसमेत गर्न नसक्केपछि घर फर्किएको छ ।
खेलको म्यान अफ दि म्याच समीर तामाङ घोषित हुँदै नगद १० हजार प्राप्त गरे । बिहीबारको अन्तिम सेमिफाइनल खेल साविक विजेता न्यूरोड टिम (एनआरटी)र पाहुना टोली युनाइटेड कार्साङ फुटबल क्लब (युकेएफसी) प्रतिस्पर्धा हुनेछ ।
खेलको विजेता टिमले नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता टिमले नगद पाँच लाखमा चित्त बुझाउनेछ ।
प्रकाशित मिति: २०२५-०२-०५ , समय : १८:०९:०५ , ४ महिना अगाडि