
काठमाडौं । प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको तेस्रो स्मृति दिवसमा बिहीबार काठमाडौंमा पनि कार्यक्रम आयोजना गरिएको छ । गायक रामकृष्ण ढकालले आयोजना गरेको कार्यक्रममा संगीतकर्मी तथा सञ्चारकर्मीहरुले लता मंगेशकरको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरे ।
उनीहरुले लताको अब्बल गायकीको स्मरण गर्दै उनले पूर्वीय संगीतमा दिएको अतुलनीय योगदानको चर्चा गरे । त्यस अवसरमा आठ जना चित्रकारले लताका विभिन्न तस्वीर समेत क्यान्भासमा उतारे । त्यसरी आर्ट गरिएका तस्वीरलाई लता मंगेशकरको परिवारसमक्ष पठाइने गायक ढकालले जानकारी दिए ।

साथै, लता मंगेशकरले रामकृष्ण ढकालसँग गाएको लोकप्रिय गीत ‘बाँचुञ्जेलीलाई’को फिमेल भर्सन समेत सार्वजनिक गरियो । कार्यक्रममा गायक ढकालले लता मंगेशकरसँग आफूले गीत गाउन पाएको क्षणलाई स्मरण गरे ।
‘उहाँसँग गीत रेकर्ड गर्न पाउनु मेरो लागि ठूलो सौभाग्य हो । यो मेरो लागि आशीर्वाद हो,’ उनले भने, ‘भारतमै पनि धेरै सिङ्गरलाई उहाँसँग गाउने अवसर पाउन अत्यन्त दुर्लभ हुन्छ । म त्यहाँ गएर उहाँसँग गीत रेकर्ड गर्न पाएँ, यसको शब्दमा वर्णन नै गर्न गाह्रो हुन्छ ।’
ढकालले ‘बाँचुञ्जेलीलाई’ गीत लता मंगेशकरले व्यावसायिक रुपमा रेकर्ड गराएको अन्तिम गीत समेत भएको जनाए । ‘यो कुरा भारतीय मिडियाहरुले नै उल्लेख गरेका छन् । त्यसैले पनि यो गीतको ठूलो अर्थ छ भन्ने लाग्छ,’ उनले भने । लता मंगेशकरको स्वरमा रहेको ‘बाँचुञ्जेलीलाई’को भिडियो केही सातापछि सार्वजनिक गरिने पनि गायक ढकालले जानकारी दिए ।
लता मंगेशकर र रामकृष्ण ढकालले गाएको ‘बाँचुञ्जेलीलाई’ १० वर्षअघि सार्वजनिक भएको थियो । आनन्द अधिकारीको शब्द र शिखर सन्तोषको संगीत रहेको यो गीत लोकप्रिय छ ।
कार्यक्रममा रामकृष्णका सांगीतिक गडफादर गोपाल कर्माचार्य, वरिष्ठ गीतकार राजेन्द्र थापा, वरिष्ठ अभिनेता कृष्ण मल्ल, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, संगीतकर्मीहरु देविका बन्दना, टीका भण्डारी, राजु सिंह, मिलन मोक्तान, किरण कँडेल, जेम्स प्रधान, राजनराज सिवाकोटी, दीपक शर्मा लगायतको उपस्थिति थियो ।
सन् २०२२ फेब्रुअरी ६ मा ९२ वर्षको उमेरमा लता मंगेशकरो निधन भएको थियो । उनले ३६ भाषामा गरी हजारौं गीत गाएकी छिन् । उनले भारतको प्रतिष्ठित भारत रत्न, दादासाहेब फाल्के लगायत सम्मान तथा अवार्ड प्राप्त गरेकी थिइन् ।
अन्य तस्वीरहरु
प्रकाशित मिति: २०२५-०२-०६ , समय : १३:४४:५० , ४ महिना अगाडि