ओलम्पिक कमिटीको निर्वाचन अवैध ठहर

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन अवैध भएको ठहर गरेको छ । सर्वोच्च अदालतको आदेशविपरीत विद्युतीय माध्यमबाट निर्वाचन गराएर जीवनराम श्रेष्ठले आफूलाई तेस्रोपटक निर्वाचित भएको घोषणा गरेका थिए । सो निर्वाचनलाई अवैध ठहर गर्दै राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको ३३औं बैठकले एनओसी निर्वाचन कानुनसम्मत मान्न नसकिने ठहर गर्दै कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

अदालतको आदेशविपरीत विद्युतीय माध्यमबाट निर्वाचन गरेको भनिएको नेपाल ओलम्पिक कमिटीको कुनै पनि बैठकलगायतका काम कारबाहीमा अवैधानिक रूपमा निर्वाचनमा सहभागी राष्ट्रिय खेल संघ र महासंघहरूलाई सहभागी नगर्न र नगराउन राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गर्ने निर्णय भएको राखेपले जनाएको छ ।

त्यस्तै, अदालतबाट भएको अन्तरिम आदेश कार्यान्वयनका लागि पटकपटक परिषद्बाट जारी भएको निर्देशनको उल्लंघन गरी गरिएको निर्वाचनसम्बन्धी प्रक्रियालाई कानुनसम्मत मान्न नसकिने बताएको छ ।

अदालतको आदेश र सोही आदेशअनुसार सरकारले निर्वाचन प्रक्रिया रोक्न पत्राचार गरे पनि १३ पुसमा अनलाइन प्रक्रियामार्फत निर्वाचन सम्पन्न गरिएको थियो । विधानअनुसार श्रेष्ठ दुईपटकभन्दा बढी अध्यक्ष हुन सक्दैन थिए । तर, उनले विधान संशोधन गरेर तेस्रोपटक अध्यक्ष हुने बाटो खोलेका थिए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।

प्रकाशित मिति: २०२५-०२-०७ , समय : ०६:५५:०५ , ३ महिना अगाडि