
काठमाडौं । प्रसिद्ध भारतीय गायिका लता मंगेशकरले गाएको नेपाली गीत ‘बाचुञ्जेलीलाई’को सोलो भर्सन सार्वजनिक भएको छ । एक दशकअघि लता र रामकृष्ण ढकालको स्वरमा यो गीतको युगल भर्सन सार्वजनिक भएको थियो, जुन निकै लोकप्रिय छ ।
सोमबार गायक ढकालले आफ्नै युट्युब च्यानलमा लता मंगेशकरको एकल गायनमा रहेको ‘बाँचुञ्जेलीलाई’ रिलिज गरेका हुन् । आनन्द अधिकारीको शब्द र शिखर सन्तोषको संगीत रहेको गीतको भिडियो समेत निर्माण गरिएको छ । केही दिनअघि लताको तेस्रो स्मृति दिवसमा आयोजित कार्यक्रम र आठ जना चित्रकारले सामूहिक रुपमा कोरेको लताको तस्वीरका दृश्यलाई भिडियोमा उतारिएको छ ।

‘यस संस्करणमार्फत म लता मंगेशकरको अमर योगदानलाई सम्मान गर्न चाहन्छु,’ रामकृष्णले भनेका छन्, ‘संगीतको संसारमा उहाँको अतुलनीय देनलाई सम्झँदै सुगम संगीतकी कोकिलासँग गीत गाउने अवसर प्राप्त गर्न पाएकोमा आभार व्यक्त गर्न चाहन्छु ।’
यो गीतलाई लताको अन्तिम व्यावसायिक गीत समेत मानिएको छ । यसपछि केही भजनबाहेक लताले गीत रेकर्ड नगरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
प्रकाशित मिति: २०२५-०२-१७ , समय : २१:२४:२१ , ३ महिना अगाडि