
काठमाडौं । काठमाडौँमा पौडीको एस्का (एएससीए) सर्टिफिकेसन क्लिनिक सुरु भएको छ । लिटिल डल्फिन्स स्विम स्कुलको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण काठमाडौँमा सुरु भएको हो । अमेरिकन स्विमिङ कोच एसोसिएसनको सर्टिफिकेसन्स कोर्समा सहभागी हुन ४ जना बङ्गलादेशबाट आएका छन् भने बाँकी २२ जना नेपाली रहेका छन् ।
उनीहरूलाई एटिबा बेडले ५ दिनसम्म प्रशिक्षण दिने छन् । बेड पूर्व एनसीएए अल–अमेरिकन पौडीबाज तथा दुई पटकको युएस ओलम्पिक ट्रायल्स छनोट भएका बेड हिगो फिटनेसका पनि संस्थापक हुन् । उनले ड्राइ ल्यान्ड फिटनेस ट्रेनिङ, पौडी प्रशिक्षण, पोषण सम्बन्धी सल्लाह तथा पौडीबाजहरूको भिडियो विश्लेषण गरेर नेपालमा पनि दक्ष प्रशिक्षक उत्पादन गर्न सघाउने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य अञ्जन धमलाले यस्ता प्रशिक्षणले नेपालको पौडी खेलमा टेवा पुग्ने विश्वास व्यक्त गरे । पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षक प्रशिक्षण निजी क्षेत्रबाट भइरहेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरूमा राखेप पनि सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा डल्फिन्स स्विमका संस्थापक तथा निर्देशक युवराज सुनुवारले नेपालमा एस्का क्लिनिक गराउनु पर्छ भन्ने धेरै बर्सदेखिको चाहना अहिले आएर पूरा भएकोमा खुसी व्यक्त गरे । उनले अमेरिकन कोच एटिबा बेडले यहाँका प्रशिक्षकहरूलाई दिने ज्ञानले हाम्रो पौडीबाजहरूलाई मात्र होइन, समग्र नेपाली पौडी खेलको भविष्यलाई नै उज्ज्वल बनाउने विश्वास व्यक्त गरे ।
प्रशिक्षक बेडले एक सक्षम प्रशिक्षक बन्न धेरै कुराहरूको ज्ञान हुनु पर्ने भन्दै प्रशिक्षणबाट सक्दो फाइदा लिन सल्लाह दिए ।

प्रकाशित मिति: २०२५-०२-२० , समय : ०७:३६:१६ , ३ महिना अगाडि