
नवलपुर । गत शुक्रबार ‘भ्यालेन्टाइन्स डे’ को दिन पाँचथरको फिदिमबाट सांगीतिक यात्रा सुरु गरेका गायक दीपक बज्राचार्य र उनको रिदम ब्याण्ड यो मंगलबारसम्म आइपुग्दा तीनवटा सहरमा गुञ्जिएको छ ।
‘भ्यालेन्टाइन्स डे’ को दिन पाँचथरको फिदिममा अहिलेसम्मकै ठूलो सांगीतिक प्रस्तुति दिएको ब्याण्डले आइतबार मोरङको विराटचोकमा अर्को धमाकेदार प्रस्तुति दियो । मंगलबार मध्यनेपालको नवलपुरमा पुगेर कार्यक्रम गरेसँगै ब्याण्डको एक चरणको पूर्व-पश्चिम कार्यकम सकिएको हो ।

मंगलबार नवलपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको आठौं नवलपुर महोत्सवमा पनि ब्यान्डको क्रेज उस्तै क्रेज देखियो ।
राति ८ बजेदेखि सुरु भएकोमा कार्यक्रम डेढ घण्टासम्म चल्यो । पाँच हजारभन्दा बढी दर्शक गायक दीपक बज्राचार्य र रिदम ब्याण्डको प्रस्तुतिमा झुमेका थिए ‘म त हावासँगै आउँछु’ बोलको गीतबाट प्रस्तुति सुरु गरेको ब्याण्डले अन्तिम गीत ‘मनमागन’सम्म आइपुग्दा आफुलाई दर्शकको उत्साहसँगै निरन्तरता दिएको थियो ।
आफ्ना नयाँ र पुराना गीतमा परम्परागत संस्कृति झल्किने लाखेनाच, झाँक्रीनाच समेत प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन गराउन अब्बल मानिएको रिदम ब्याण्ड स्वदेशदेखि विदेशसम्म लोकप्रिय मानिएको छ । अब अर्को हप्ताबाट नेपालभित्रै फेरि अर्को चरणको कार्यकम सुरु हुने ब्याण्डले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०२-२० , समय : १६:३९:१८ , ३ महिना अगाडि