
काठमाडौं । संखुवासभाको पाँचखपन नगरपालिका-९, ढाडेगाउँकी रेश्मा बराइली । कक्षा ११ मा पढ्छिन्, गाउन औधी रुचि । तर गायिका बन्ने आफ्नो सपना संखुवासभामा बसेर कसरी पूरा गर्ने ?
तर भनिन्छ नि- सपना देख्न सक्नुपर्छ, पूरा भएरै छाड्छ । रेश्माको गायिका बनेर पहिलो गीत रेकर्ड गर्ने सपना पनि पूरा भएरै छाड्यो । यसमा सहयात्री भएर आए- संगीतकार मोहन मगर ।

मोहनले रेश्माले गीत गाएको टिकटक र फेसबुकमा सुनेका थिए । रेश्माको स्वर र गायकीले उनलाई मोहित बनायो । अनि मनमा आयो यत्तिको प्रतिभालाई सकेको सहयोग गर्नुपर्छ । त्यसपछि उनी काठमाडौंबाट पुगे संखुवासभा ।
रेश्मा सदरमुकाम खाँदबारीमा बसेर कक्षा ११ मा पढिरहेकी छिन् । वर्षाका कारण ढाडेगाउँसम्म पुग्न नपाए पनि रेश्मालाई मोहनले खाँदबारीमै भेटे र गीत गाएको मन परेको सुनाए । रेश्मा पनि खुसी हुँदै आफूलाई गीत रेकर्ड गर्ने चाहना रहेको मोहनलाई दर्शाइन् ।
त्यसपछि रेश्मा काठमाडौं आउने भइन् बुवासँगै । मोहन र उनका साथी पनि काठमाडौं फर्किए । काठमाडौं आएपछि अनामनगरको किङ्स स्टुडियोमा गीत रेकर्ड गर्ने मेलोमेसो बन्यो । रेश्माका को-सिङ्गर बने गायक टीका मगर ।
रेश्माले न त कहिल्यै प्रत्यक्ष रेकर्डिङ स्टुडियो देखेकी थिइन्, न त गीत यसरी टेक लिएर गाउन पाइन्छ भन्ने नै सोचेकी थिइन् । तर उनले बेपर्वाह जबर्जस्त ढंगले गीत गाइन् । कहिल्यै संगीत नसिकेकी रेश्मालाई मोहनले सम्झाइरहेका थिए सुर र तालको विषयमा । त्यसलाई निकै छिटो टिपिरहेकी थिइन् रेश्मा ।
रेश्मा शिक्षा विषयकी विद्यार्थी हुन् । यसरी हेर्दा उनको लक्ष्य शिक्षक बन्ने हो भन्ने लाग्छ । तर उनको मुख्य लक्ष्य गायिका नै बन्नु हो । जुन संगीतकार मोहनको साथले पाइला टेकेको छ ।
‘गाउँमा संगीत सिक्ने त ठाउँ नै हुँदैन, धरान सहर झर्नुपर्छ । अब चाहिं कक्षा १२ सकेपछि काठमाडौं नै बसेर संगीत सिक्ने इच्छा छ,’ चौबाटोसँग रेश्माले भनिन्, ‘पहिलोपटक प्रत्यक्ष रेकर्डिङ स्टुडियो देख्न पाएँ । गाउने तरिका पनि थाहा पाएँ ।‘
चौबाटोसँग उनले आफ्नो मखमलीमा आवाजमा केही गीत समेत सुनाइन् । गीत सुन्दा यस्तो लाग्छ उनी नयाँ कलाकार हैनन्, व्यावसायिक गायिका हुन् ।
संगीतकार मोहन रेश्माको सांगीतिक बाटो अब खुलेको र भविष्य उज्ज्वल रहेको बताउँछन् । ‘रेश्माले संगीत सिक्नुपर्छ अब । तर नयाँ सिङ्गरको एउटा हुटहुटी हुन्छ गीत रेकर्ड गर्ने,’ उनी भन्छन्, ‘यो एउटा अनुभव पनि हो माइक, साउन्ड र कन्फिडेन्सको कम्बिनेस । अब रेश्माको स्टुडियो सिकाइ सुरु भयो, संगीतको सुरतालको सिकाइ चाहिं अब अगाडि बढाउनुपर्छ ।‘
गायक टीका मगर पनि रेश्माको सांगीतिक भविष्य उज्ज्वल रहेको बताउँछन् । ‘मलाई त परफेक्ट भोकल लाग्यो रेश्माको,’ भ्वाइस अफ नेपालका प्रतिस्पर्धीसमेत रहेका टीका भन्छन्, ‘अब संगीत सिकेर राम्ररी अघि बढ्न सुझाव दिन्छु ।‘
बाटो व्यक्ति आफैंले हिंड्छ । तर त्यो बाटो देखाउने कोही हुन्छ । रेश्मालाई सांगीतिक बाटो देखाएका हुन् उनका मामाले । तर दुर्भाग्य, उनका मामाले रेश्माले पहिलो सांगीतिक पाइला चालेको देख्नै पाएनन् । उनको एक दुर्घटनामा केही समयअघि मृत्यु भएको हो । मामाको सपना पूरा गर्नु पनि अब आफ्नो सपना भएको रेश्मा भावुक हुँदै सुनाउँछिन् ।
‘मेरो मामा पनि गाउनुहुन्थ्यो । तर उहाँको करेन्ट लागेर डेथ भयो । मामाको सपना पनि अब मैले पूरा गर्नुपर्छ,’ रेश्मा भावुक सुनिइन् ।
औपचारिक संगीतको पहिलो पाइला चालेकी रेश्मा संगीतका थुप्रै घुम्ती र उकालीओराली पार गर्ने सामर्थ्यका साथ अब अघि बढ्ने बताउँछिन् ।
भिडियोमा पनि हेर्नुहोला
प्रकाशित मिति: २०२५-०५-०४ , समय : १७:५१:५३ , ३ हप्ता अगाडि