
काठमाडौं । गायक रामकृष्ण ढकाल सांगीतिक टुरका लागि बेलायत उडेका छन् । शनिबार त्यसतर्फ प्रस्थान गरेका उनी १२ मे अर्थात् आगामी सोमबार म्यानचेस्टरमा गुञ्जिंदैछन् ।
८८४८ भाइब्सको आयोजनामा हुने ‘रामकृष्ण ढकाल साँझ’मा उनले आफ्ना लोकप्रिय नयाँ-पुराना गीत प्रस्तुत गर्नेछन् । लामो समयपछि बेलायतमा प्रस्तुति दिन लागेकाले आफू उत्साहित रहेको रामकृष्णले चौबाटोलाई बताए ।

‘लामो समयपछि यूकेमा प्रस्तुति दिंदैछु । यसबाट म निकै उत्साहित छु,’ उनले भने, ‘यूकेको कार्यक्रम सकेपछि अमेरिका र क्यानडाका विभिन्न सहरमा कार्यक्रम छ । त्यसपछि म स्वदेश फर्कनेछु ।‘
म्यानचेस्टरको कार्यक्रमपछि रामकृष्ण त्यतैबाट अमेरिका प्रस्थान गर्नेछन् । अमेरिकामा २४ मेमा केन्टकीबाट यसपटक उनको सांगीतिक टुर सुरु हुनेछ । त्यसपछि ३१ मे मा न्यु ह्याम्प्सायरमा उनी गुञ्जिनेछन् भने जुनको पहिलो साता टेक्सासमा सांगीतिक प्रस्तुति दिनेछन् ।
त्यसपछि क्यानडाका दुई ठाउँमा कार्यक्रम हुने रामकृष्णले बताए । २१ जुनमा टोरन्टो र २८ जुनमा विनिपेग सहरमा कार्यक्रम तय छ । अमेरिका र क्यानडापछि उनी फेरि बेलायतको लण्डनमा हुने कार्यक्रममा गुञ्जिनेछन् । करिब दुई महिनाको सांगीतिक टुरपछि स्वदेश फर्किने रामकृष्णले बताए ।
प्रकाशित मिति: २०२५-०५-१० , समय : १२:०७:५३ , २ हप्ता अगाडि