२८ जुनमा ओहायोमा यम बरालको ‘गीति कथामय साँझ’

काठमाडौं । गायक यम बराल यतिबेला सांगीतिक कार्यक्रमको सिलसिलामा अमेरिका भ्रमणमा छन् । केही साताअघि अमेरिका प्रस्थान गरेका यम त्यहाँ हुने विभिन्न सांगीतिक जमघटमा व्यस्त छन् ।

आगामी २८ जुनमा उनी ओहायोमा गुञ्जिंदैछन् । जहाँ उनले आफ्ना नयाँ पुराना लोकप्रिय गीत सुनाएर नेपाली डायस्पोरालाई मन्त्रमुग्ध पार्नेछन् ।

‘एक गीति कथामय साँझ- विथ भेट्रान प्लेव्याक सिङ्गर यम बराल’ नाम दिइएको उक्त कार्यक्रमलाई ओहायोको रेनोल्ड्सबर्ग सहरमा कलश इभेन्ट सेन्टरले आयोजना गर्दैछ ।

कार्यक्रममा यमले आफ्नो सिग्नेचर सङ ‘बादलुको घुम्टोले’देखि अन्य लोकप्रिय गीतहरु निष्ठुरीले छाडेर गइहाली, अब चोटहरुले, मन रहे पो मायाप्रीति, दिलमाया दिलमाया, सनम माया लाको, बाख्रा करायोसम्म प्रस्तुत गर्नेछन् । उनले त्यहाँ हालसालै सार्वजनिक भएको ‘राम पियारी’ पनि प्रस्तुत गर्ने तयारी छ ।

‘एक फरक कार्यक्रम,गीति कथामय साँझका लागि यो स्थान, यो मितिमा तपाईंहरू समक्ष भेटने छु । कोलम्बस, ओहायो वरिपरि रहनुहुने सम्पूर्ण दर्शक-श्रोतामा चुले निम्तो गर्दछु,’ यमले सामाजिक सञ्जालमार्फत निमन्त्रणा गरेका छन् ।

नेपाली सुगम संगीत र पार्श्वगायनका प्रसिद्ध गायक यम स्टेजका साथै रेकर्डिङमा पनि निकै व्यस्त देखिन्छन् ।

प्रकाशित मिति: २०२५-०६-१५ , समय : १७:५०:३८ , ३ हप्ता अगाडि