
काठमाडौं । विश्व संगीत दिवसको अवसरमा काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा थारू कलाकारहरूले मौलिक गीतसहित आकर्षक प्रस्तुति दिएका छन् । राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको वृहत राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा उनीहरुले आ-आफ्नो ठाउँ र परिवेश झल्किने गरी प्रस्तुति दिए ।
कार्यक्रमको उद्घाटन नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले गरेका थिए । कार्यक्रममा बोल्दै चौधरीले पहिचानको लागि आफूले सांस्कृतिक क्रान्ति गर्दा जेलमा बस्नु परेको दाबी गरे ।

‘मैले रेडियो नेपालमा २०४९ सालबाट गीत गाएर सुरु गरेको सांस्कृतिक क्रान्ति सुरु गरें । जब गणतन्त्र आयो, उनीहरुले थारूको छोराले गीतबाटै पहिचान मागेको देख्न सकेनन् । मलाई थुने । अनि राजनीतिमा म बाध्य भएर आउनुपर्यो,’ उनले भने ।
देशभरका थारू कलाकारहरूले आफ्नो भाषा, संस्कृति र परम्परागत संस्कृति झल्काउने प्रस्तुतिहरू दिएको राष्ट्रिय थारू कलाकार संघका महासचिव विजय चौधरीले बताए ।
उनका अनुसार वीर चौधरी, ममता चौधरी, विवेक चौधरी, खेम चौधरी, मनोज महतो, सुनिल चौधरी, आर्या चौधरी, नन्दुराज चौधरी, शिव चौधरीको ग्रुप डान्स, सोमति थारूलगायत देशभरका राष्ट्रिय कलाकारहरूले आ-आफ्नो क्षेत्रमा बोलिने ठाउँमा बोलिने थारू भाषाका मौलिक संस्कृति झल्कने प्रस्तुति दिएका थिए ।
कार्यक्रममा चारजना अग्रज स्रष्टालाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति: २०२५-०६-२२ , समय : १६:४५:११ , २ हप्ता अगाडि