इटहरीबाट नक्कली व्याकुल माईला पक्राउ

इटहरी ।आफूलाई राष्ट्रिय गीतको रचनाकार व्याकुल माईला भन्दै ठग्दै हिँड्ने नक्कली व्याकुल माईला उर्फ मिलन राई बिहीबार इटहरीबाट पक्राउ परेका छन् ।
व्याकुल माईलाका नाममा प्रकाशित केही पुस्तकको भुक्तानी लिनका लागि बिहीबार इटहरी उपमहानगरपालिका आएका उनलाई प्रहरीले उपमहानगर परिसरबाट पक्राउ गरेको हो ।
उदयपुरको बेल्टार घर भएका उनलाई यसअघि पनि प्रहरीले नक्कली व्याकुल माईला भई ठग्दै हिँडेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरी अबका दिनमा यस खालको गतिविधि नगर्ने सर्तमा रिहा गरेको थियो ।
इटहरी उपमहानगरपालिकाका कर्मचारीहरूले दिएको सूचनाका आधारमा उनलाई पक्राउ गरी म्याद थपका लागि इनरुवा लगिएको छ ।
राईले राष्ट्रिय गीतका सर्जक प्रदीप कुमार राई व्याकुल माईलाका विरुद्ध आफू चाहिँ सक्कली व्याकुल माईला रहेको र गीतको सृजना पनि आफैले गरेको भन्दै राष्ट्रपति कार्यालयसम्म उजुरी समेत हालेका थिए ।
उनले पछिल्लो समय ७ महिनाअघि पनि सभामुख देवराज अधिकारीलाई समेत सक्कली सर्जक व्याकुल माईला आफू भएको भन्दै निवेदन दिएका थिए । उनले उजुरीमा व्याकुल माईलाका नाममा राज्यले मासिक रूपमा दिँदै आएको सेवा सुविधा आफूलाई दिनु पर्ने माग उल्लेख गर्ने गरेको बुझिएको छ । उनले पहिलो पटक उदयपुरको चौदण्डी नगरपालिकामा उजुरी नै दर्ता गराएका थिए ।
उनको ठगी कार्यबाट आफू विगत ७÷८ वर्षदेखि पीडित भइरहेको प्रदीपकुमार राई व्याकुल माईलाले जानकारी दिए । उनले मिलन राईले आफ्नो महाअपमान गरेको यथेष्ट प्रमाण हुँदा हुँदै यत्तिका वर्षसम्म राज्यका जिम्मेवार निकाय मौन बस्दा अचम्मित भएको प्रतिक्रिया दिए ।
प्रदीपकुमार राई व्याकुल माईलाले भने‘राष्ट्रिय गीत भनेको राष्ट्रको सम्पत्ति हो । यसको संरक्षण गर्ने,यसका सर्जकको संरक्षण गर्ने,सम्मान गर्ने,शिरलाई उँचो राख्ने काम त राज्यले नै गर्नु पर्ने हो । तर के कति कारणबाट मिलन राई ढुक्कका साथ मेरो नाम बेचेर नक्कली व्याकुल माईला भएर देशभर हिँडिरहेका छन् ? मैले बुझ्न सकिरहेको छैन ।’
पक्राउ परेका नक्कली व्याकुल माईलालाई राज्यका जिम्मेवार निकायले पहिला जस्तो गरी छाड्ने भन्दा पनि कानुन अनुसार कारबाही गर्न पर्ने माग प्रदीपले गरेका छन् ।
पछिल्लो समय नक्कली व्याकुल माईला उर्फ मिलन राईले कोसी प्रदेशका धेरै स्थानीय तह र विद्यालयहरूमा आफू व्याकुल माईला भन्दै ठुलो सङ्ख्यामा पुस्तक बिक्री गरेको बुझिएको छ ।

प्रकाशित मिति: २०२५-०८-१४ , समय : १५:३१:५५ , २ हप्ता अगाडि