वैशाख १ मा इलाम–माइपोखरी म्याराथन

इलाम । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा र्पुयाउने उद्देश्यले इलाममा खुल्ला म्याराथन हुने भएको छ ।
नयाँ वर्ष २०८० को अवसर पारेर वैशाख १ गते म्याराथनको आयोजना गर्न लागिएको हो । इलाम नगरपालिकाको वडा नम्बर– १० देखि धार्मिक तथा पर्यटकीय स्थल माइपोखरीको सात खाल्डे सम्म ४२ किलोमिटर दुरीमा म्याराथन गरिने इलाम नगरपालिकाले जनाएको छ ।

इलाम नगरपालिका, सन्दकपुर गाउँपालिका र रणशार्दुल गण इलामको संयुक्त आयोजनामा गर्न लागिएको म्याराथनलाई आकर्षक बनाउन पुरुषतर्फ विजेतालाई अर्थात् प्रथम पुरस्कार दुई लाख रुपियाँ नगद राखिएको छ ।
उक्त प्रतियोगिताको दोस्रो हुनेले एक लाख ५० हजार, तेस्रो हुनेले एक लाख रुपियाँ, चौथो हुनेले ५० हजार रुपियाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा दसौँ हुने सम्मलाई सान्त्वना पुरस्कार व्यवस्था गरिएको जनाइएको छ । पुरुष धावकहरूले चार घण्टा १० मिनेटमा उक्त दुरी पार गर्नेछन् ।

यस्तै महिला तर्फ २१ किलोमिटर दुरीमा म्याराथन आयोजना गरिएको छ । इलाम बजार परिक्रमा गर्दै विल्याँटे बजारबाट मेची राजमार्गको सन्दकपुर सडक मोर्ड हुँदै माइपोखरी सातखाल्डे मैदान सम्मको २१ किलोमिटरमा महिलाका लागि प्रतियोगिताको तयारी गरिएको छ ।
महिलातर्फ प्रथम हुनेले नगद एक लाख रुपियाँ, दोस्रो हुनेले ५० हजार रुपियाँ, तेस्रो हुनेले ३५ हजार र चौथो हुनेले २५ हजार नगद पुरस्कार हात पार्नेछन् । महिला तर्फ पनि दसौँ प्रतियोगीसम्मलाई सान्त्वना पुरस्कार राखिएको इलाम नगरपालिका प्रमुख केदार थापाले बताए । महिलाहरूले दुई घण्टा पाँच मिनेटमा दुरी पार गर्नेछन् ।

थापाका अनुसार जिल्ला बाहिरका खेलाडीहरूलाई खेल सुरु हुने अघिल्लो दिन खाना र आवासको व्यवस्था गरिएको छ । निर्धारित समयमा दुरी पार गर्ने धावकहरूलाई भने थप एक दिनको खाना र आवासको व्यवस्था मिलाइएको बताइएको खबर आजको गोरखापत्रमा प्रकाशित भएको छ ।

प्रकाशित मिति: २०२३-०३-३१ , समय : ०७:३४:५० , २ वर्ष अगाडि