करातेका नवनिर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण

काठमाडौं । नेपाल कराते महासंघका नवनिर्वाचित पदाधिकारीलाई मंगलबार प्रमाण पत्र प्रदान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पदाधिकारीलाई बधाइ तथा कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिदै एक कार्यक्रमबीच प्रमाण पत्र हस्तान्तरण गरे ।

उक्त अवसरमा राखेपका पूर्व उपाध्यक्ष समेत रहेका नेपाल ओलम्पिक कमिटीका उप–महासचिव पिताम्बर तिम्सिना, सचिव रामजीबहादुर श्रेष्ठ, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतको उपस्थिति रहेको थियो ।

चैत १२ गते चितवनको पटियानीमा भएको महासंघको साधारणसभाले राखेपका पूर्व सदस्य–सचिव एवं करातेका संस्थापक मध्येका एक युवराज लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले नयाँ नेतृत्वको चयनसंगै करातेमा रहेको विवाद सदाका लागि अन्त्य हुने विश्वास व्यक्त गर्दै राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय सफलता दिलाएको करातेलाई परिषद्ले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति: २०२३-०४-०५ , समय : ०८:४५:५५ , २ वर्ष अगाडि