
इनरुवा । इनरुवा नगरपालिकाको नगरसभाले खेलकुद क्षेत्रलाई बजेट विनियोजन नगरेको भन्दै खेलकुद सम्वद्ध पक्षले असन्तुष्टी जनाएका छन ।
इनरुवा नगरपालिकाको ११ औं नगरसभामा प्रस्तुत गरिएको नीति कार्यक्रम योजना तथा बजेटको आर्थिक विधेयकमा खेलकुद विकासका लागि बजेटको व्यवश्था नगरिएकोप्रति खेलाडी तथा प्रशिक्षकहरुले असन्तुष्टी जनाएका हुन ।
इनरुवामा खेल प्रशिक्षकहरुले आफ्नौ व्यक्तिगत खर्चमा खेलाडीलाई प्रशिक्षण तथा अभ्यास गराउँदै आएपनि नगरपालिकाले संस्थागत रुपमा खेलाडीलाई प्रोत्साहन गर्न कुनै चासो नदेखाएको गुनासो गरेका छन ।
इनरुवामा हाल विरेन्द्र साहले इनरुवा खेल मैदानमा र मधेशा स्थित कवर्ड हलमा नियमित रुपमा एकसय जना खेलाडीलाइ्र्र दुई स्थानमा केही शुल्क लिएर ते–क्वान्दो खेलको प्रशिक्षणसहित खेल अभ्यास गराउदै आएका छन ।
राइजिङ इनरुवा क्रिकेट एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक सरोज बस्नेतले ४० जना क्रिकेट खेलाडीलाइ्र्र व्यक्तिगत पहलमा सुनसरी बहुमुखी क्याम्पसको मैदानमा नियमित रुपमा प्रशिक्षण तथा अभ्यास गराउँदै आएका छन ।
फुटवल खेलाडी तथा प्रशिक्षक शशि थापा मगरले शैक्षिक तालिम केन्द्रको मैदानमा तीन दर्जन बढी उदयमान किशोर तथा युवा खेलाडीलाइै आफ्नो व्यक्तिगत पहलमा विभिन्न क्षेत्रबाट सहयोग जुटाउँदै फुटवल खेल अभ्यास तथा प्रशिक्षण दिदै आएका छन ।
भलिवल खेलाडी विवेक खतिवडाले आफ्नो व्यत्तीगत पहलमा तीन दर्जन खेलाडीलाई नियमित रुपमा खेल अभ्यास तथा प्रशिक्षण दिदै आएका छन ।
यसैगरि इनरुवामा कवड्डी र कुस्तीका दर्जन बढी खेलाडी रहेका छन ।
यसैगरि इनरुवाका ब्याडमेन्टिन खेलाडीहरुले स्वतस्फुर्त रुपमा इनरुवा खेलमैदानमा नियमित रुपमा अभ्यास गर्दै आएका छन भने नगरमा कुनै समयमा उत्कृष्ट खेलाडी रहेको सितोरियो कराते डोजाङ भने बन्द भएको अवश्थामा रहेको छ ।
इनरुवाको प्रतिनिधित्व गर्दै फुटवल, क्रिकेट, भलिवल, कुस्ती र कवड्डी लगायतका खेलमा आफ्नै लगानीमा खेल्दै आएका खेलाडीहरुले जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलमा सहभागी हुँदै विजेता उपविजेता बन्दै आएका छन ।
खेलाडी तथा फुलवारी क्रिकेट क्लवका अध्यक्ष शिव यादवले इनरुवा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा खेलकुद क्षेत्रको विकासका लागि एक पैसा विनियोजन नगर्नु दुखःद भएको बताए ।
उनले वडा तथा नगरस्तरीय प्रतियोगिताहरु लामो समयदेखि हुन नसक्दा खेलाडीहरु पलायन हुने अवश्थामा पुग्नुका साथै नियमित अभ्यास गर्ने मैदानसमेत मर्मत सम्भारका नाममा बन्द रहँदा खेल गतिविधिलाई सुचारु गराउन नगरपालिकाले चासो नदिएको आरोप लगाए ।
यादवले इनरुवामा कोभिड १९ कोरोना भाइरसको सक्रमण फैलिएपछि बन्द भएको खेलकुद गतिविधि स्थानीय सरकारको वेवास्ताका कारण झन संकटपुर्ण अवश्थामा पुगेको आरोप लगाए ।
उनले इनरुवामा क्रिकेट खेलमा नियमित रुपमा ७२ जना खेलाडीहरु जुनियर टिमदेखि प्रदेश स्तरका खेल प्रतिगोतियामा सहभागी हुँदै इनरुवा नगरपालिकाको नाम राख्दै आएकाले आगामी दिनमा नगरपालिकाको वेवास्ताका कारण खेलाडीहरु उत्पादन गर्न र खेलमा टिकाएर राख्न समस्या हुने अवश्थामा पुगेको गुनासो पोखे ।
राइजिङ इनरुवा क्रिकेट एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक सरोज बस्नेतले नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि कुनै लगानी नगरेका कारण खेलकुदमा मृत शहर हुने अवश्थामा पुगेको बताए ।
उनले खेलाडी उत्पादन हुनका लागि वडा तथा नगरस्तरका प्रतियोगिता आयोजना गर्न आवश्यक भएकाले हाल इनरुवामा प्रतियोगिता नभएको चार वर्ष बितिसकेकाले नयाँ खेलाडी उत्पादन हुन नसक्नुका साथै पुराना खेलाडीहरुले अभ्यास गर्न छाडेको बताए ।

प्रकाशित मिति: २०२३-०६-२७ , समय : १६:३६:२७ , २ वर्ष अगाडि