‘स्काई फोर्स’ले अक्षयलाई राहत, विश्वव्यापी कमाइ १०० करोड नाघ्यो

काठमाडौं । अक्षय कुमार र वीर पहाडियाको फिल्म ‘स्काई फोर्स’ले भारतीय बक्स अफिसमा सुखद् कमाइ गरिहेको छ । एकपछि अर्को लगातार फ्लप फिल्मको लहर चलिरहेको बेला अक्षयलाई यसले राहत दिएको छ ।

गणतन्त्र दिवसको छेको पारेर २४ जनवरीमा रिलिज भएको फिल्मले प्रदर्शनको छैटौं दिनसम्म विश्वव्यापी १०० करोड भारुको आँकडा पार गरेको भारतीय सञ्चामाध्यमले जनाएका छन् । १६० करोड भारु बजेट बताइएको फिल्मले यसको ५० प्रतिशत हिस्सा कमाइ गरिसकेको छ । हिट सावित हुनका लागि फिल्मले अझै लामो समयसम्म उत्कृष्ट कमाइ गर्नु जरुरी छ ।

‘स्काई फोर्स’ले बुधबार ५.७५ करोड भारु कमाएको छ भने मंगलबार पनि यही अनुपातमा कलेक्सन गरेको थियो । ६ दिनसम्म भारतीय बक्स अफिसमा फिल्मको कमाइ ८०.७५ करोड पुगेको छ । विश्वव्यापी कमाइ १०४ करोड छ ।

सन्दीप कौलानी र अभिषेक अनिल कपुर निर्देशित ‘स्काई फोर्स’मा अक्षय र वीरका साथै सारा अली खान र निम्रत कौरको पनि मुख्य भूमिका छ ।

यसैबीच, अभिनेत्री कंगना रनौतको फिल्म ‘इमरजेन्सी’ले भने बक्स अफिसमा लगातार खराब प्रदर्शन गरिरहेको छ । प्रदर्शनको १३ औं दिनसम्म फिल्मको कमाइ १७.३१ करोड मात्रै छ । जबकि फिल्मको बजेट ६० करोड रुपैयाँ छ । शुक्रबार रिलिज हुन लागेको शाहिद कपुर स्टारर ‘देवा’ले कंगनाको फिल्मलाई अझै असर पुर्‍याउन सक्छ ।

प्रकाशित मिति: २०२५-०१-३० , समय : १४:०७:२९ , ४ महिना अगाडि