रामकृष्ण ढकाल जन्मथलोमा ‘गायन सम्राट’ उपाधिबाट सम्मानित

काठमाडौं । गायक रामकृष्ण ढकाल जन्मथलो निजगढमा ‘गायन सम्राट’ उपाधिबाट सम्मानित भएका छन् । सुगम संगीतका सर्वप्रिय गायक रामकृष्णलाई बुधबार उनको जन्मथलो बाराको निजगढमा आयोजित ‘प्रथम निजगढ महोत्सव’मा उक्त उपाधिबाट सम्मान गरिएको हो ।

निजगढ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा सांगीतिक प्रस्तुति दिन रामकृष्ण बुधबार निजगढ पुगेका रामकृष्णलाई निजगढ नगरपालिका, निजगढ उद्योग वाणिज्य संघ, निजगढ टाइम्स लगायतले सम्मान गर्दै ‘गायन सम्राट’ उपनाम दिएका हुन् ।

दोस्रो पटक आफ्नो जन्मभूमिमा प्रस्तुति दिन पुगेका रामकृष्णलाई हेर्न र सुन्न हजारौं स्थानीय संगीतप्रेमी उपस्थित भएको निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।

कार्यक्रममा रामकृष्णले बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्, मन पराउने हजार, मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो, ओराली लागेको लगायत आफ्ना एक दर्जन लोकप्रिय गीत प्रस्तुत गरेका थिए ।

गीत गाउने क्रममा उनले निजगढसँगको आफ्नो सम्बन्ध र बाल्यकालबारे पटकपटक चर्चा गरेका थिए । ‘त्यतिबेलाका धेरै घटनाहरू अहिले त विस्मरणमा पनि पुगिसके,’ उनले भने, ‘तर जहाँ पुगे पनि निजगढको माटोको भने सधैं सम्झना आइरहन्छ ।’

उनले जन्मस्थानमा आएर फेरि कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गरे । सानै उमेरमा जन्मस्थान छोडेर अन्यत्र जानुपरेकोमा दुःखमनाउ पनि गरे । रामकृष्ण निजगढ नगरपालिका-६ मा जन्मिएका हुन् ।

‘पहिले काठको सानो थियो,’ आफू जन्मेको घर सम्झिंदै रामकृष्णले भने, ‘म त्यही आँगन र पिंढीमा खेलेर हुर्केको हुँ ।’

रामकृष्ण ढकाल जन्मेको घर भएको स्थान

२०३५-०३६ सालमा निजगढबाट सिमरा सरेको उनको परिवार त्यसपछि चितवनको जुगेडीमा बसाइँ सरेको थियो । उनले बिहीबार आफ्नो जन्मघर पनि हेरे ।

प्रकाशित मिति: २०२५-०१-३० , समय : १७:२०:३९ , ४ महिना अगाडि