
सुनसरी । सुनसरीको इनरुवा नगरपालिकामा हुने १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
फागुन ४ गतेदेखि ६ गते तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता भगवती माध्यमिक विद्यालयमा गर्ने तयारी भएको हो ।

इनरुवामा सञ्चालन हुने प्रतियोगिता भगवती माध्यमिक विद्यालयको आतिथ्यमा हुने भएको हो । प्रतियोगिता इनरुवा खेल मैदानमा हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि भौतिक संरचना मर्मतको कामलाई तीव्रता दिएको निरौलाले जानकारी दिए । इनरुवा खेलमैदानमा भलिबल, कबड्डी, एथ्लेटिक्स लगायतका खेल सम्पन्न गर्नका लागि ग्राउन्ड मर्मत तथा व्यवस्थापनको काम सम्पन्न भएको जनाएको छ । प्रतियोगितामा इनरुवाका ३२ विद्यालयले सहभागिता जनाउने जानकारी दिएको छ ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्न सङ्घीय सशर्त अनुदानतर्फ बजेट नरहे पनि नगरपालिकाले आफ्नै आन्तरिक तर्फबाट बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालन गरिरहेको छ ।
प्रत्येक विद्यालयले आफ्नो विद्यालयका उत्कृष्ट खेलाडीहरूको छनोट गरी प्रतियोगितामा सहभागिता जनाउने तयारी गरिरहेका छन् । प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको आयोजकको दाबी छ ।
प्रकाशित मिति: २०२५-०२-०४ , समय : १९:२३:०२ , ४ महिना अगाडि