बुढासुब्बा गोल्डकपमा एनआरटीको ह्याट्रिक

धरान । न्यूरोड टिम (एनआरटी)क्लबले २५औँ संस्करणको बुढासुब्बा गोल्डकप उपाधि रक्षा गरेको छ ।

धरान रङ्गशालामा शनिबार भएको फाइनलमा साविक विजेता एनआरटीले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले हराउँदै उपाधिमा ह्याट्रिक गरेको हो ।

लगातार तेस्रो पटक एनआरटीलाई उपाधि जिताउन दुवै गोल विदेशी खेलाडी हेनरी पोकोले गरे । प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता चर्च ब्वाइजले लिएपनि जोगाउन सकेन ।

२४औँ मिनेटमा अनन्त तामाङले गोल गर्दै चर्चलाई अग्रता दिलाए ।उनले फ्रिकिकमा गोल गर्नुभएको थियो । चर्चको अग्रतापछि जोसिएको एनआरटीले २७औँ मिनेटमा बराबरी गोल फर्काएको थियो । एनआरटीका लागि हेनरी पोकोले बराबरी गोल फर्काए ।

त्यसपछि ५८औँ मिनेटमा हेनरीले ब्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई उपाधि रक्षा गराए । हेनरी फाइनल खेलको प्लेयर अफ दि म्याच बन्दै १० हजार रुपियाँ पुरस्कार पाए ।

दोस्रो हाफमा चर्च ब्वाइजले गोलको अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा हार खेप्यो । उपाधिसँगै एनआरटीले १० लाख रुपियाँ पुरस्कार पायो । उपविजेता चर्च ब्वाइजले पाँच लाख रुपियाँमा चित्त बुझायो ।

यसैगरी सर्वोत्कृष्ट खेलाडी एनआरटीका शिशिर लेखी घोषित भए । उनले एक लाख रुपियाँ पुरस्कार पाए । सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका खेलाडीद्वय समीर तामाङ र अर्मान्ड भिदोंग घोषित भए । दुवैले तीन तीन गोल गरेका थिए । दुवैले ३५ हजार रुपियाँ पुरस्कार पाए ।

यस्तै उत्कृष्ट गोलरक्षक एनआरटीका प्रमिजय गच्छदार, उत्कृष्ट प्रशिक्षक एनआरटीका हरिओम श्रेष्ठ, उत्कृष्ट स्ट्राइकर चर्च ब्वाइजका समीर तामाङ, उत्कृष्ट रक्षक चर्च ब्वाइजका पदम भट्टराई, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की घोषित भए । सबैले जनही २५ हजार रुपियाँ पुरस्कार पाए ।

प्रकाशित मिति: २०२५-०२-०८ , समय : १९:१४:२० , ४ महिना अगाडि