‘लाज शरणम्’लाई प्रदर्शन अनुमति

काठमाडौं । कुमार कट्टेल ‘जिग्री’ निर्देशित फिल्म ‘लाज शरणम्’लाई प्रदर्शन अनुमति दिइएको छ । केन्द्रीय चलचित्र जाँच समिति (फिल्म सेन्सर बोर्ड)ले आइतबार बिहान फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र प्रदान गरेको हो ।

बोर्डले फिल्मको रनटाइम २ घण्टा ४० मिनेट ५२ सेकेन्ड तय गरेको छ । समिति सदस्य ऋषिराज आचार्यले केही दृश्य सच्याउँदै फिल्मलाई प्रदर्शन अनुमति दिइएको जानकारी दिए ।

प्रदर्शन अनुमति पाएसँगै फागुन १४ मा फिल्म रिलिजका लागि बाटो खुलेको निर्माता कम्पनी जेपीटी क्रियसनका प्रमुख तथा कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले बताए ।

उनका अनुसार मन्त्रालयको कानुन शाखाले उच्च अदालत पाटनलाई सेन्सर बोर्डको निर्णयबारे जानकारी गराउनेछ ।

गत साता पूर्वमन्त्री अफ्ताब आलमले फिल्मको चरित्र चित्रणमा आपत्ति जनाउँदै रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाई गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसारमा रोक लगाएको थियो । आलमको मागबारे सेन्सर बोर्डले चर्चामा आएजस्तै कुनै व्यक्ति लक्षित दृश्य र संवाद फिल्ममा नरहेको बताइसकेको छ । यो मुद्दा अहिले अदालतमा विचाराधीन छ ।

चर्चित टेलिसिरियल ‘सक्किगो नि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’मा सीताराम कट्टेल ‘धुर्मुस’, विजय बराल, अर्पण थापा, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे ‘पाँडे’, सागर लम्साल ‘बले’, हरिश निरौला ‘कक्रोच’,  रेणु योगी, प्रियाना आचार्य लगायत कलाकारको अभिनय छ । फिल्मलाई सुदीप बरालले खिचेका हुन् ।

प्रकाशित मिति: २०२५-०२-२३ , समय : १३:०३:३१ , ३ महिना अगाडि