गुलाम अलीसहित छोरा र नातिले गाएको पहिलो गीत ‘गजल उनकै गीत उनकै’

काठमाडौं । केही दिनअघि प्रसिद्ध पाकिस्तानी गजल गायक गुलाम अलीको काठमाडौंमा भव्य सांगीतिक कार्यक्रम सम्पन्न भयो । ‘तीन पुस्ता एउटै मञ्चमा’ नाम दिइएको उक्त कार्यक्रमा गुलाम अलीसहित उनका छोरा आमिर गुलाम अली र नाजिर गुलाम अलीले प्रस्तुति दिए ।

साधना कला केन्द्रले आयोजना गरेको लाइभ ब्याण्ड कार्यक्रममा गुलाम अलीले आफ्ना कालजयी नेपाली गीत-गजल ‘गाजलु ती ठूला ठूला आँखा’, ‘किन किन तिम्रो तस्वीर’, ‘लोलाएका ती ठूला आँखा’ सहित हिन्दी र उर्दू गीत-गजल गाएर दर्शक-श्रोतालाई मन्त्रमुग्ध पार्दै नोस्टाल्जिक बनाए ।

उक्त अवसरमा एउटा ऐतिहासिक नेपाली गीत समेत सार्वजनिक गरियो । गीतकार मनोज खड्काको शब्दमा गुलाम अली, उनका छोरा आमिर र नाति नाजिरले गाएको ‘गजल उनकै गीत उनकै’ गीत सार्वजनिक गरिएको हो । गुलाम अलीका तीनै पुस्ताले एकसाथ गाएको पहिलो गीत भनिएको उक्त गीतलाई मिलन मोक्तानले संगीत दिएका छन् । एरेन्ज दीप तुलाधरले गरेका हुन् ।

शृंगारिक भावको गीतले उच्च शिल्पमा प्रेमिकाको वर्णन प्रस्तुत गर्छ ।

गजल उनकै गीत उनकै

कथा उनकै लेख्छु साथी

जूनकै पनि देख्छु राति

उनको एक मुस्कान काफी

‘उस्ताद गुलाम अली खानज्यूका तीन पुस्ताद्वारा रेकर्ड गरिएको पहिलो ऐतिहासिक गीत/गजल प्रस्तुत गर्ने ठूलो सौभाग्य मिलेको छ । यसका लागि खान साब, आमिर गुलाम अलीजी र नाजिर गुलाम अलीजीलाई हार्दिक नमन,’ गीतकार खड्काले भनेका छन् ।

८४ वर्षीय प्रसिद्ध गजल गायक गुलाम अलीले गाएका नेपाली गीत-गजल ‘गाजलु ती ठूला ठूला आँखा’, ‘किन किन तिम्रो तस्वीर’, ‘लोलाएका ती ठूला आँखा’, ‘के छ र दिऊँ’, ‘मनभित्र के छ ठूली’ लगायत कालजयी छन् । उनका ‘हम तेरे सहर मे’, ‘चमक ते चाँद को’, ‘दिल मे इक लहर’, ‘चुपचुप के रातदिन’ थुप्रै हिन्दी र उर्दू गीत-गजल लोकप्रिय छन् ।

प्रकाशित मिति: २०२५-०३-१७ , समय : १२:५७:१८ , २ महिना अगाडि