सय करोड लगानीमा एक सय शैय्याको विराट क्यान्सर इन्स्टिच्युट संचालनमा

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालले विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको छ ।

एक सय करोडको लगानीमा अस्पताल परिसरभित्रै क्यान्सर रोगको उपचारको लागि १०० शैय्याको विराट क्यान्सर इन्स्टिच्युट संचालनमा ल्याइएको हो । विराट मेडिकल कलेज शिक्षण अस्पतालभित्रै क्यान्सरको सम्पूर्ण उपचार गर्ने उद्देश्यले १०० शैय्याको इन्स्टिच्युट संचालनमा ल्याइएको अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए ।

रेवन्त रूपमणी फाउन्डेसनबाट संचालित विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सर सम्बन्धि सम्पूर्ण उपचार सेवा सस्तो, भरपर्दो गुणस्तरीय रुपमा दिने उनले बताए । ‘कम खर्चमा क्यान्सरको सम्पूर्ण उपचार यहाँ हुनेछ,’ डा. कार्कीले भने, ‘अहिले १०० शैय्याको रहेको छ । यसलाई अवश्यकताअनुसार थप विस्तार गर्दै अगाडि बढाउनेछौं ।’ क्यान्सरको उपचार तथा शल्यक्रियामा सहयोग पु¥याउने उद्देश्यका साथ आधुनिक प्रविधिको रेडिएसन पद्धछिद्वारा क्यान्सर रोगको उपचार विधि सुरु भएको हो ।

क्यान्सर इन्स्टिच्युट कोशी प्रदेशसहित अन्य प्रदेश, भारतको विहारदेखि पश्चिम बंगालसम्मका बिरामीलाई लक्षित गरेर अस्पताल सञ्चालानमा ल्याइएको बताइएको छ । ‘क्यान्सरका विरामी चितवन र विदेश जाने गरेका थिए ।

स्थानीयस्तरमै क्यान्सरका रोगका बिरामीको उपचार विराटमा हुने भएपछि बाहिर जानुपर्ने समस्याको अन्त्य भएको छ,’ डा. कार्कीले भने । क्यान्सर इन्स्टिच्युटले दक्ष चिकित्सक साथमा अन्तर्राष्ट्रियस्तरको प्रविधी र विशेषज्ञको टिमसहित सबै किसिमका क्यान्सरको उपचार सेवा दिँदै आइरहेको छ ।

इन्स्टिच्युटले क्यान्सर रोग सम्बन्धि सबै उपचार एउटै छानामुनि दिदैं आइरहेको छ । जसमा रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमोथेरापी टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी, सर्जिकल अंकोलोजी (महिला, पुरुष तथा बालबालिका), रेडियो–डाइग्नोसिस, इन्टरभेन्सनल रेडियोलोजी, स्टेरियोट्याक्टीक म्यामोग्राफी सेवा छन् । यसैगरी, प्रिभेन्टीभ अंकोलोजी, प्यालिएटीभ केयर, प्याथोलोजी विभाग, आहार तथा पोषणविदद्वारा परामर्श, मनोविदद्वारा परामर्शलगागयतका सेवा रहेका छन् ।

क्यान्सर उपचारका लागि नेपाल सरकारद्वारा उपलब्ध उपचार सुविधाबाट पनि अस्पतालमा उपचार हुनेछ । अस्पतालले क्यान्सरको उपचारको लागि ३० करोड रुपैयाँमा लेटेष्ट उपकरणमात्रै ल्याएको छ । अस्पतालमा स्त्री क्यान्सर रोग विशेषज्ञ डा.ज्ञानेन्द्रमान सिंह कार्की, डा. मोना प्रियादर्शीनी, मेडिकल अंकोलोजिष्ट डा.सुलभ सापकोटा, क्यान्सर शल्यचिकित्सक (अंको सर्जन) डा. शिवराम शर्मा, डा.धुव्रनारायण साह, डा. नरेन्द्र पण्डित, पेडियाट्रिक अंकोलोजिष्ट डा. सुवास मेहेता, पेडियाट्रिक अंको सर्जन डा. हिरामणि पाठक, क्लिनिकल अंकोलोजिष्टद्वय डा. अस्मिता रायमाझी, डा.विवेक घोष, अंको रेडियोलोजिष्ट डा. नेत्र विक्रम शाह, डा. भानुप्रताप शाहलगायतका चिकित्सकका टिमले सेवा प्रदान गर्दै आइरहेको छ । हेल्थ आवजबाट

प्रकाशित मिति: २०२३-०३-३१ , समय : ०७:१७:५२ , २ वर्ष अगाडि