अपराध नियन्त्रणमा उदारता र सम्झौता हुँदैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशभित्र राष्ट्रियहित कुण्ठित हुनेगरी कुनै पनि गतिविधि गर्न नदिन निर्देशन दिएका छन ।

शुक्रबार मन्त्रालयमा पदबहालीपछि मातहतका सुरक्षा निकाय र कर्मचारीलाई मन्त्री श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रियहित कुण्ठित हुनेगरी कुनै काम गर्न नदिन निर्देशन दिएका हुन । उनले सीमा सुरक्षामा अब्बल साबित हुनेगरी काम गर्न सुरक्षा निकायलाई निर्देशन दिए । उनले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने आफ्नो पहिलो कर्तव्य ठानेर काम गर्न आग्रह गरे ।
मन्त्री श्रेष्ठले राष्ट्रियहित विपरीतका गतिविधि रोक्ने र त्यसप्रकारको गतिविधि हुन नदिनेगरी काम गर्न निर्देश गरे ।

उनले भने, ‘‘राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने सन्दर्भमा हामीले आफ्नो पहिलो कर्तव्य ठानौँ। त्यसो गर्दा सीमा सुरक्षाको रक्षा र अरू कुनै कोणबाट नेपालको राष्ट्रिय सार्वभौमिकता सङ्कुचित हुने वा राष्ट्रिय हित कुण्ठित हुने कुनै काम पनि गर्न नदिन हामी दत्तचित्त हुनुपर्छ। सीमा सुरक्षाका सन्दर्भमा हामीलाई जो जिम्मेवारी दिइएको छ। त्यो जिम्मेवारीप्रति गर्वबोध गर्दै हामीले त्यसलाई अब्बल साबित गर्नुपर्छ। त्यसमा कुनै कमजोरी हुन दिनुहुँदैन। नेपालको राष्ट्रियहीत विपरीत देशभित्र कहिँकतैबाट कुनै क्रियाकलाप भइराखेको छ भने त्यसलाई रोक्ने र त्यसप्रकारको कुनै गतिविधि हुन नदिन म सम्पूर्ण रूपमा ध्यान केन्द्रित गर्न म पहिलो कार्यभारको रूपमा निर्देश गर्दछु।’

मन्त्री श्रेष्ठले नागरिकहरूको शान्ति, सुरक्षा र अमनचयनमा मन्त्रालयको तर्फबाट कुनै पनि कमजोरी हुनुहुने बताए । उनले शान्ति सुरक्षा कायम गर्न मन्त्रालयको तर्फबाट कुनै पनि नकारात्मक परिणाम आउन नदिन सचेत गराए । आम सर्वसाधारणले स्वतन्त्रतापूर्वक जीवनयापन गर्न, हिँडडुल गर्न, व्यवसाय गर्न र संविधानले दिएको अधिकार उपभोग गर्न पाउनुपर्ने भन्दै त्यसमा पनि कमी कमजोरी हुन नदिन उनले निर्देशन दिए ।

उनले भने, ‘‘आम नागरिकले, आम सर्वसाधारण जनताले, यो लोकतान्त्रिक मुलुकमा स्वतन्त्रतापूर्वक आफ्नो जीवनयापन गर्न पाउनुपर्छ। आफ्नो व्यवसाय गर्न पाउनुपर्छ। हिँडडुल गर्न पाउनुपर्छ। संविधानको उपभोग गर्न पाउनुपर्छ। त्यसमा कहीँ कतैबाट पनि कमी, कमजोरी हुन दिनुभएन। स्वतन्त्रतापूर्वक मौलिक अधिकारको प्रयोग गर्ने, संविधानको अधिकारको प्रयोग गर्ने र एउटा सम्मानित नागरिक जीवन जिउन पाउने वातावरण हामीले सुनिश्चित गर्नुपर्छ। शान्ति, सुरक्षा, अमनचयन त्यसका लागि आधारभूत सर्त हो। त्यसमा कुनै पनि कमी, कमजोरी हाम्रो तर्फबाट नहोस्। त्यसमा छुट दिइने छैन। हाम्रो मन्त्रालयको भूमिकामा भएको कमजोरीका कारणले कुनै पनि प्रकारको नकारात्मक परिणाम आउन दिनु हुँदैन। यसमा पनि म सबैको ध्यानाकर्षण गराउन चाहन्छु।’

मन्त्री श्रेष्ठले देशका सच्चा नागरिकले छिटोभन्दा छिटो नागरिकता पाउने कुरालाई सुनिश्चित गर्ने बताए । उनले नागरिकलाई नागरिकताको प्रमाणपत्र दिन ढिलाइ नगर्ने बताए ।
मन्त्री श्रेष्ठले महिला हिंसा अन्त्य गर्न नयाँ ढङ्गले तीव्रताका साथ अघि बढ्नुपर्ने भन्दै सोही अनुरूप कार्ययोजना बनाउन निर्देशन दिएका छन । त्यस्तै भ्रष्टाचारमा आफूले शून्य सहनशीलता अपनाएको भन्दै भ्रष्टाचारको छिटा कतै पर्न नदिन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन । अपराधको नियन्त्रण गर्ने सन्दर्भमा अपराधीलाई दण्डित गर्न कुनै पनि प्रकारको उदारता नअपनाउन र सम्झौता नगर्न चेतावनी दिए । उनले जेललाई यातना गृहको रूपमा नभई सुधार गृहको रूपमा लिनुपर्ने भन्दै जेल सुधारको योजना बनाउन पनि निर्देशन दिए ।

मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई हस्तक्षेप मुक्त बनाइने बताए । सुरक्षा निकायले कुनै पनि प्रकारको दबाबमा काम गर्नु नपर्ने उनको भनाइ छ। सुरक्षा निकायको पेसागत प्रतिष्ठा कायम गरिने उनले उल्लेख गरे । त्यसैगरी राष्ट्रिय परिचयपत्रको औचित्य पुष्टि हुनेगरी काम गर्न पनि उनको निर्देशन छ। श्रेष्ठले अध्यागमन विभाग र अध्यागमन कार्यालयलाई अझै व्यवस्थित र प्रभावकारी बनाइने बताए ।
मन्त्री श्रेष्ठले विगतका सरकारले विभिन्न पक्षसँग गरेका सम्झौताहरूको स्वामित्व सरकारले लिने भन्दै ती सम्झौताहरू कार्यान्वयनमा ध्यान दिइने बताए ।

प्रकाशित मिति: २०२३-०३-३१ , समय : २१:०५:०६ , २ वर्ष अगाडि