इनरुवा नगरपालिकाले औषधी सप्लायर्ससँग मिलेमतोमा खरिद गरेको बोलपत्रनै फर्जी

खरिद गरिएका औषधी अधिकांश म्याद गुज्रिन लागेका अवस्थाका

इनरुवा । इनरुवा नगरपालिकाले चालु आर्थिक वर्षमा खरिद गरेको औषधीमा मिलोमतो गरि प्रतिष्पर्घामा अयोग्य ठहरिएर प्रतिष्पर्घामा सामेल नै हुन नपाउने सप्लायर्सबाट औषधी खरिद गरेको तथ्य फेला परेको छ ।

इनरुवा नगरपालिका नगर कार्यपालिकाले बोलपत्र फारम दर्ता गरि बैंक ग्यारेन्टी भौचर नबुझाएको औषधी बिक्रेता सप्लायर्ससँग मिलोमतोमा औषधी खरिद गरेको पाइएको हो ।

नगरपालिकाले १० वटा वडामा रहेका स्वास्थ्य केन्द्रमा वितरण गर्ने औषधी खरिदका लागि २०७९ माघ १२ गते बोलपत्र आव्हनमार्फत प्रतिष्पर्घाबाट औषधी सप्लायर्सलाई मागअनुसारको दररेटमा आपुर्ती गर्न सूचना प्रकाशित गरेको थियो ।

स्रोतका अनुसार इनरुवा नगरपालिकाको स्वास्थ्य शाखाबाट स्वास्थ्य कार्यालय सुनसरीलाई चालु आर्थिक वर्षको औषधीको जिल्ला दररेट माग गरि सोहीअनुसारका औषधीहरु नगरपालिकामा आवश्यक भएकाले बिक्रेतालाई प्रतिष्पर्घाबाट छनौट गर्न शिलबन्दी बोलपत्र माग गरेको थियो ।

नगरपालिकाले न्युनतम बोल कबोल २३ लाख ८९ हजार ९६० रुपैयाँ मुल्य बराबरको औषधी कार्यालय निर्धारण गरेको खरिदको मापदण्डअनुसार बोलपत्र पेश गर्न आव्हान भएको थियो ।

३० दिने सूचनाभित्र नगरपालिका कार्यालयमा औषधी सप्लायर्सका तर्फबाट भारद्धाज औषधालय इनरुवाले १७ लाख ९४ हजार ६ सय ३७ रुपैयाँ ४७ पैसा, न्युटन मेडिको फर्मा भक्तपुरले १६ लाख ९२ हजार ७२ रुपैयाँमा माग भएअनुसारको औषधी उपलब्ध गराउने गरि शिलबन्दी बोलपत्र पेश गरेका थिए ।

यसैगरि रामलक्ष्मण फार्मेसी इटहरीले १५ लाख ९० हजार ५ सय ७७ रुपैयाँ २७ पैसा, हेल्पीड्ड मल्टी प्रपोज प्राइभेट लिमिटेड भक्तपुरले १५ लाख ६८ हजार ९ सय ५३ रुपैयाँ र सतिदेवी मेडिसिन सप्लायर्स प्रा।लि भक्तपुरले ११ लाख ७४ हजार ३ सय १२ रुपैयाँ ९५ पैसामा औषधी उपलब्ध गराउने शिलबन्दी बोलपत्र पेश गरेका थिए ।

प्रतिष्पर्घाका आधारमा शिलबन्दी बोलपत्र फारम पेश गरेका सप्लायर्स मध्येबाट न्युनतम अंकमा बोलपत्र पेश गर्ने सतिदेवी मेडिसिन सप्लायर्स प्रा।लि भक्तपुरका नाममा टेण्डर स्वीकृत भएको आशयपत्र गत फागुन २८ गते प्रकाशित गरिएको थियो ।

बोलपत्र फारम स्वीकृत भएको सतिदेवी मेडिसिन सप्लायर्स प्रा।लि भक्तपुरले नगरपालिकामा पेश गरेको राष्ट्रिय वाणिज्य बैक इनरुवा शाखाको बैक ग्यारेण्टी भौचर भने पेश नगरेको पाइएको छ ।

बोलपत्र स्वीकृत भएको सतिदेवी सप्लायर्सले मेरिगोल्ड इन्टरनेशनल प्रालिका नामबाट राष्ट्रिय वाणिज्य बैंक इनरुवा शाखामा जम्मा गरेको ९०००४०२९०१ नम्बरको बैक भौचर बोलपत्र फारमको सक्कल प्रति र ई–टेण्डरमार्फत इनरुवा नगरपालिकाको इमेल तथा वेभसाइटमा पेश गरेको तथ्य फेला परेको छ ।

बोलपत्र खरिद गरि औषधी सप्लायर्सका लागि प्रतिष्पर्धामा फारम नबुझाएको मेरिगोल्ड इन्टरनेशनल प्रालिका नामबाट बैक भौचर समावेश गर्न लगाइ्र्र्र स्वास्थ्य शाखाका कर्मचारीले मिलोमतोमा औषधी खरिद गर्न लागेको तथ्य उजागर भएको हो ।

बोलपत्र फारममा बैक भौचर पेश नभएको सप्लायर्सको फारम रद्ध भई प्रतिष्पर्घाबाट हटाउनु पर्ने खरिद ऐनको नियम, निर्देशिका र कानुनी प्रावधान विपरित नगरपालिकाको स्वास्थ्य शाखाले भने कमिसन बढी दिने सतिदेवी मेडिसिन सप्लायर्स प्रा।लि भक्तपुरका नाममा २०७९ चैत १३ गते खरिद आदेश जारी गरेको पाइएको छ ।

नगरपालिकाले सतिदेवी सप्लायर्सलाई २०७९ चैत औषध्री खरिदका लागि सम्झौता गर्न आउन पत्र पठाएपछि सो सप्लायर्सले २०७९ चैत ८ गते प्रतिनिधिमार्फत सम्झौता गरेको पाइएको छ ।

नगरपालिकातर्फबाट सम्झौता पत्रमा प्रमुख प्रशासकीय अधिकृत दशरथ राई, लेखा अधिकृत अशोक मेहता र जिन्सी शाखाका अधिकृत कुमार निरौलाले हस्ताक्षर गरेका छन ।

सप्लायर्सले इनरुवा नगरपालिकामा दाखिला गरेको औषधीको बिलमा औषधी बनेको मिति, ब्याच नम्बर, औषधीको म्याद सकिने मिति भने उल्लेख नगरेको पाइएको छ ।

स्रोतका अनुसार सप्लायर्स र नगरपालिकाको स्वास्थ्य शाखाको मिलोमतोमा आवश्यकता नभएका औषधीहरु न्युनगुणस्तर बजारको थोक मुल्यभन्दा न्युन दररेट भएको, औषधीमा प्र्रिन्ट गरिएको मुल्यसूचीभन्दा अत्यन्तै न्युन दररेट बिलमा देखाउनुका साथै केही औषधीको मुल्य भने बजारमा खुद्रा बिक्री दर भन्दा बढी रहेको पाइएको छ ।

बिक्रेताले म्याद सकिन १८० दिनभन्दा कम समय रहेका औषधी बिक्री वितरण गर्न नपाउने कानुनी व्यवश्था विपरित म्याद सकिन १ महिना मात्रै बाँकी रहेको मिति सकिन लागेका औषधीहरु सप्लायर्सले नगरपालिकाको स्वास्थ्य शाखामा दाखिला गरेको पाइएको छ ।

स्रोतका अनुसार नगरपालिकाको स्वास्थ्य शाखाले बोलपत्रमा माग गरेअनुसारको २३ लाख ८९ हजार ९६० रुपैयाँमा घटेर प्रतिष्पर्घामा ११ लाख ७४ हजार ३ सय १२ रुपैयाँ ९५ पैसाको औषधी खरिदको टेण्डर स्वीकृत भएकाले न्युन दररेटको बिल पेश भएअनुसारको परिणाममा पुनः औषधी खरिद गर्न प्रतिष्पर्धा बिना कोटेसनका आधारमा सोही सतिदेवी मेडिसिन सप्लायर्स प्रालि भक्तपुरका नाममा १२ लाख १५ हजार ६ सय ४८ रुपैयाँको औषधी खरिद गर्ने तयारी भएको जनाइएको छ ।

प्रकाशित मिति: २०२३-०४-०५ , समय : १७:३४:०९ , २ वर्ष अगाडि