विपद् व्यवस्थापनको पूर्वतयारीमा जुट्न विभागको ध्यानाकर्षण

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अन्तर्गतको विपद् व्यवस्थापन विभागले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्न सम्बन्धित सरोकारवालाहरूलाई ध्यानाकर्षण गराएको छ ।

विहीबार पार्टीको केन्द्रिय कार्यालयमा विभागका प्रमुख डा.गंगालाल तुलाधरको अध्यक्षतामा बसेको बैठकले सबै तहका सरकारलाई समेत मनसुन पूर्व तयारी र सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ ।

बर्षादको समयमा बाढी पहिरोले धनजनको क्षति हुने ,यातायात अवरुद्ध हुने जसका कारण औषधी लगायत दैनिक उपभोगका अत्यावश्यक सामाग्रीहरूको अभाव हुने भन्दै बेलैमा त्यसप्रति चनाखो र सचेत भई आवश्यक भण्डारण गर्न पूर्व सूचना प्रणालीलाई विशेष जोड दिन ,पूर्व सूचना प्रणाली राडर राख्न र भइरहेका त्यस्ता उपकरणहरूको अपडेट गर्न सम्बन्धित सरोकारवालाहरूलाई सचेत गराएको विभागका प्रमुख डा. तुलाधरले बताए ।

यस्तै बैठकले आगामी बैठकमा विपद् पूर्वतयारी जोखिम न्यूनिकरणलाई विशेष प्राथमिकताका साथ बजेटिङ गर्न तिनै तहका सरकारलाई प्रतिवद्धता जाहेर गर्न सहकार्य र समन्वय गर्न जरुरी रहेको भनिएको विभागका सचिव सूर्यबहादुर थापाले बताए । यस क्रममा सबै राजनैतिक दलहरू पनि राजनीति भन्दा माथि उठेर जिउ धनको सुरक्षा भौतिक क्षति न्यूनिकरण गने गरी विभागको सक्रियतामा पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम पनि तय भएको विभागका सचिव थापाले बताए । उनका अनुसार बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई समेत स्रोत साधन सहित सबलीकरण गर्दै अगाडि बढ्नुपर्ने सुझाएको छ ।

प्रकाशित मिति: २०२३-०४-०६ , समय : १८:०९:३७ , २ वर्ष अगाडि