नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिरोहमा दुई पूर्वमन्त्रीका छोराको संलग्नता

काठमाडौं । नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमा पूर्वगृहमन्त्री रामबहादुर थापाका सल्लाहकार र पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोराको समेत संलग्नता देखिएको छ । थापाका छोराविरुद्ध पनि उजुरी परेको छ ।

कान्तिपुर दैनिकको आजको अंकमा देवेन्द्र भट्टराईले खुलासा गरेको सनसनीपूर्ण समाचारमा अमेरिका उडाउने भन्दै ड८७५ नेपालीलाई भुटानी बनाउने गिरोहमा राजनीतिक संलग्नता भेटिएको हो ।

पूर्वमन्त्री टोपबहादुर रायमाझीले गिरोहका नाइकेहरुसँग खिचेको सामूहिक तस्बिर र उनका छोरा सन्दीप रायमाझीका नाममा काटिएको १ करोड ५० लाखको चेकसहितको समाचार  छापिएको छ ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरा निरज राई पनि गिरोहमा संलग्न रहेको र स्वयं थापाका छोरा प्रतीक थापामगरविरुद्ध पनि उजुरी परेको समाचारमा जनाइएको छ ।

थापा हाल नेकपा एमालेमा उपाध्यक्ष र रायमाझी सचिव छन् ।

गिरोहका सदस्यले १० देखि ५० लाख रुपैयाँसम्म उठाएको आरोप लागेको छ । पैसा उठाउने गिरोहमा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, उनका छोरा निरज, केशवप्रसाद दुलाल, सन्देश शर्मा, सानु भण्डारी, अशोक पोखरेल, सागर थुलुङ राई र टंक गुरुङ सक्रिय रहेको अनुसन्धानमा देखिएको छ । दुलाल पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी कांग्रेस नेता सुजाता कोइरालाका तत्कालीन निजी सहायक हुन् ।

प्रहरीले एमाले सचिवसमेत रहेका रायमाझीका छोरा सन्दीपका नाममा डेढ करोडको चेक काटेको चेक नै बरामद गरेको छ । दुलाल, भण्डारी, थुलुङ र गुरुङलाई प्रहरीले १० दिन अघि प्रक्राउ गरिसकेको छ ।

छुटेका शरणार्थीको समस्या समाधान गर्न भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ साल असार २९ गते कार्यदल गठन गरेको थियो । गृह मन्त्रालयका तत्कालीन सहसचिव बालकृष्ण पन्थी संयोजक रहेको कार्यदलले काम गरिरहेकै बेला राजनीतिक संरक्षण पाएको गिरोहले नक्कली शरणार्थीको सूची संकलन गरेको पुष्टि भएको हो ।

प्रकाशित मिति: २०२३-०४-०७ , समय : ०८:१९:०७ , २ वर्ष अगाडि