
झापा । कैदीबन्दीका बालबच्चाहरुकी ‘आमा’ इन्दिरा रानामगर आजदेखि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रतिनिधिसभाकी उपसभामुख बनेकी छन् ।
जीवनका ५२ वर्षे उकाली ओराली बिताइसक्नु भएको उनलाई हिजो(शनिवार) प्रतिनिधिसभाको बैठकले उपसभामुख पदमा निर्वाचित गर्यो ।

वुवा स्व.प्रताप रानामगर र आमा स्व. मनमाया रानामगरको कान्छी सुपुत्रीको रुपमा विसं २०२७ मा झापाको अर्जुनधारामा जन्मनु भएकी उनले २२ वर्ष अघि दुई वटा कोठा भाडामा लिएर काठमाडौंमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थालेकी थिइन ।
झापाको अर्जुनधारा–११ सालबाडी निवासी उनको अभिभावकत्वमा दुई वटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा छन् । जहाँ झापादेखि पाल्पासम्मका कारागारमा बन्दी जीवन बिताइरहेका कैदीबन्दीका दुई हजार असहाय छोराछोरीले आश्रय मात्र होइन, शिक्षादीक्षा पनि पाइसकेका छन् ।
उनलाई यसका लागि प्रसिद्ध साहित्यकार पारिजातले प्रेरणा दिएकी थिइन । घर छाडेर काठमाडौंमा पढ्न जाँदा उनलाई पारिजातले नै संरक्षण प्रदान गरिन् । अर्जुनधाराको महारानीगञ्ज प्राथमिक विद्यालयको कक्षा ४ मा १२ वर्षको उमेरमा भर्ना भएर उनले औपचारिक शिक्षा प्रारम्भ गरेकी उनका दाजु जगत रानामगरले बताए । उनले समाजशास्त्रमा स्नातकोत्तर तहको शिक्षा प्राप्त गरिसक्नु भएको छ । उनकी एउटी छोरी सुविना राना छिन् ।
पारिजातले सञ्चालन गरेको मानव अधिकारबादी संस्थामा उनले स्यवम्सेवक बनेर मानवीय सेवाको थालनी गरेकी थिइन । पारिजातसँगै कारागार जाँदा उनले कैदीबन्दीका दुःख र पीडा मात्र नभएर तिनका सन्तानको अलपत्र अवस्थाको समेत जानकारी पाइन ।
उनले बन्दी सहायता नेपालमार्फत झापा, पाल्पा, काठमाडौ लगायतका स्थानमा बाल संरक्षणगृह सञ्चालन गरिन । तिनीहरुलाई पढाउन दुईवटा प्राथमिक विद्यालय सञ्चालन गरेकी उनले नै झापामा सञ्चालन गरेकी जुनकिरी प्राथमिक विद्यालयका प्रधानाध्यापक रञ्जित परियारले जानकारी दिइन ।
बन्दी सहायता नेपाल (पीए नेपाल)की अध्यक्ष इन्दिरा राना राजनीतिमा लागेको धेरै भएको छैन । उनले लगातार बालअधिकार र मानवीय सेवामा लागिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गठन हुँदा समेत उनी कुनै पार्टीमा थिइनन् ।
रास्वपाका अध्यक्ष रवि लामिछानेले समाजसेवाबाट राजनीतिमा आउन आग्रह गर्दा उनी सुरुमा अलमलिनु भएको थियो । भुइँमान्छेको सेवामा लागिरहेको हुँदा राजनीति मार्फत पनि समाजसेवा नै हुने कुरामा सहमत भएपछि उनी राजनीतिमा होमिइन् । छोटो अवधिमै रास्वपाले उनलाई समानुपातिक सिटबाट सांसद् निर्वाचित गर्यो । अब उनको जिम्मेवारी सांसदबाट धेरै माथि उक्लिएर संसद्कै अभिभावक अर्थात उपसभामुख तहमा पुगेको छ ।
उपसभामुख पदमा पुगेपछि दलगत राजनीतिमा सक्रिय हुने परम्परा छैन । उपसभामुख राना पनि छोटो अवधिमै राज्यको शीर्ष दश ओहोदाभित्र पुग्न सफल भइन् । उनी आफुलाई जहिल्यै भुइँमान्छेको रुपमा चिनाउछिन् ।
एक साताअघि झापास्थित बाल संरक्षणगृहमा सांसद्को रुपमा आउँदा उनले आफु जुनसुकै ओहोदामा पुगे पनि कैदीबन्दीका बालबच्चाहरुको आमाको रुपमा आफ्नो भूमिका कहिल्यै नफेरिने भावुक अभिब्यक्ति दिएकी थिइन । “हिजो भुइँमान्छे थिएँ, आज पनि उही भुइँमान्छे नै हुँ,” उनले भने–“हिजो बालअधिकारका लागि सडकबाट कराउँथे, कसैले सुन्दैनथिए । अब त्यही आवाज संसद्भित्र गुञ्जाउँछु । मेरो आवाज अब सुनिनेछ भन्ने विश्वास लिएकी छु ।”
सन् २००० मा बन्दी सहायता नेपाल स्थापना गरेपछि उनको योगदानले चर्चा मात्र होइन, सम्मान पनि पाउन थाल्यो । सन् २००५ मा उनले प्रतिष्ठित ‘अशोका फेलो’ पाइन । विभिन्न दाता र शुभचिन्तकहरुले उनको सत्कर्मलाई साथ दिदै आर्थिक सहयोग पनि गर्न थाले । पुरस्कार र सम्मानवापत पाएको सबै साधन स्रोत उनले व्यक्तिगत वा पारिवारिक स्वार्थमा कहिल्यै लगाउनु भएन । बाल संरक्षणको सञ्चालनमा सबै साधन र स्रोत खर्चिइन् ।
सन् २००९ मा उनले ‘एसिया जनसेवा’ अवार्ड पाइन । सन् २०१४ मा उनले नोवेल पुरस्कार बिजेता पाकिस्तानकी युसुफ मलाला र अमेरिकी जोन उडसँगै प्रतिष्ठित ‘वल्र्ड चिल्ड्रेन अनररी अवार्ड’ पाइन । यी सम्मानहरुले उनको व्यक्तित्व अन्तर्राष्ट्रिय जगतमा सुवासित भयो ।
सन् २०१७ मा बीबीसीले विश्वका सिर्जनशील महिलाहरुको सूचीमा नेपालकी इन्दिरा रानाको नाम समेट्यो । नेपालकै ख्यातिलाई अन्तर्राष्ट्रिय मञ्चमा आलोकित बनाउनु हुने रानालाई उपसभामुखको पदमा पुर्याउनु भनेको सदनकै गरिमा बढाउनु हो भनेर आजकै संसद्मा उनको नाम प्रस्ताव गर्नुहुने रास्वपाकी सांसद् सोविता गौतमले बताए ।
प्रकाशित मिति: २०२३-०१-२२ , समय : ११:२०:३३ , २ वर्ष अगाडि