
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधानको रक्षा र गणतन्त्रलाई संस्थागत गर्नका लागि सत्ता गठबन्धन गरिएको बताएका छन ।
बाराको सिम्रोनगढको कचोर्वामा आयोजना गरिएको अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय समितिको विस्तारित बैठकमा उहाँले वर्तमान सत्ता गठबन्धन पाँच वर्ष नै टिक्नेमा आफू आशावादी रहेको बताए ।

किसान अर्थतन्त्रको आधारशिला भएको भन्दै अध्यक्ष नेपालले किसानको खेतीमा सहजरूपमा सिँचाइ पुर्याउन मेचीदेखि महाकालीसम्म नहरको निर्माण गर्न सरकार लागि परेको जानकारी दिए । सिँचाइको अभावमा देशभर जग्गा धेरै नै बाँझो हुने भन्दै उनले नहर निर्माणले किसानको सो समस्या समाधान हुने बताए ।
नेपालका युवाले विदेशमा गएर कृषिको काम गर्नुपर्ने बाध्यता सिर्जना भइरहेको हुँदा नेपालमा नै युवालाई कृषिमा रोजगारीको ग्यारेण्टी गर्न सरकारले गृहकार्य सुरु गरेको उनको भनाइ थियो ।
अध्यक्ष नेपालले मिटर ब्याजीका कारण कतिपय व्यक्ति घरबार विहीनको अवस्थामा पुगेका र कतिपयले ज्यानसमेत गुमाएको हुँदा मिटर ब्याजीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे ।
प्रकाशित मिति: २०२३-०४-०७ , समय : २२:०३:५१ , २ वर्ष अगाडि