
इटहरी । इटहरी उपमहानगरपालिकाको सुक्रबार बसेको कार्यपालिका बैंठकले स्वास्थ्यकर्मीहरुले तीन महिनादेखि तलब नपाएकोमा तलब दिने लगायतका निर्णयहरु गरेको छ । तीन महिनादेखि बक्यौता रहेको स्वास्थ्य सेवा तर्फका कर्मचारीको तलवभत्ता आन्तरिक कोषबाट सापटी लिएर दिने निर्णय गरेको छ ।
कार्यपालिका बैठकले स्वास्थ्य सेवा तर्फका कर्मचारीले विगत तीन महिना देखि तलव भत्ता नपाएको भन्दै आन्तरिक कोषको अवस्था हेरी सापटी लिएर तलवभत्ता खुवाउने निर्णय गरेको हो ।

सुक्रबारको कार्यपालिका बैंठकको पहिलो कार्यसूची नै सोही बिषयमा प्रस्तुत गरिएको र सोही अनुसार निर्णय गरिएको हो ।
दरबन्दी भन्दा बढी कर्मचारी रहेपछि संघीय सरकारबाट पठाएको स्वास्थ्य सेवा तर्फको तलवभत्ता अघिल्लो ५ महिनामै सकिएपछि तलव भत्ता पाउन सकेका थिएनन् । संघीय सरकारबाट आएको पैसा पहाडी जिल्लाबाट सहमति लिएर सरुवा भई आएका कर्मचारीलाई तलवभत्ता ख्वाउन नपुगेको उपमहानगरपालिकाले बताएको छ ।
स्वास्थ्य सेवा तर्फका कर्मचारीको तलवभत्ताको लागि चालु आर्थिक बर्षको अन्तसम्म नगरपालिकाले नै व्यभारको जिम्मा लिने गरी खर्च गर्ने कार्यपालिकाले निर्णय गरेको छ ।
इटहरी उपमहानगरभरी स्वास्थ्य सेवा तर्फ १३७ जना कर्मचारी रहेकोमा ४८ जना कर्मचारी करार सेवामा रहेको बताइएको छ । स्वास्थ्य महाशाखाका अनुसार १८ जनाभन्दा बढी कर्मचारी बढी हुँदा संघीय सरकारले पठाएको तलव अपुग भएको हो ।
पछिल्लो समय इटहरी उपमहानगरले इटहरी अस्पताल र आयुर्वेदिक अस्पतालमा ज्वालादारीमा इटहरी सुरक्षा गार्ड, कार्यालय सहयोगी र सफाई कर्मचारी थप गरेको हो । हाल उनीहरुलाई दैनिक ज्वालादारी राखेपछि विस्तारै मासिक ज्वालादारी र करारमा राख्ने योजना अनुसार उनीहरु थ्प गरिएको बुझिएको छ ।
त्यसैगरी इटहरी उपमहानगरपालिकाले सामाजिक सुरक्षाभत्ता सेवाग्राहीको घरघरमा पुर्याउनका लागि बैँक तथा वित्तीय संस्थाको छनौट गर्ने भएको छ ।
श्ुाक्रबार बसेको नगरकार्यपालिकाको बैठकले नै खुल्ला प्रतिस्पर्धाबाट बैँक वित्तीय संस्था छान्ने निर्णय गरेको हो ।
नगरका सामाजिक गतिविधिका क्रियाकलापलाई सर्व सुलभ सेवा उपलव्ध गराउन नेपाल सरकारबाट स्वीकृत प्राप्त बैंक तथा वित्तीय संस्था छनौट गर्ने र आर्थिककारोबार र कार्यालय परिषरमै काउन्टरको स्थापना गराउने निर्णय कार्यपालिका बैठकले गरेको छ ।
त्यसैगरी इटहरी उपमहानगरपालिकाले नगर अस्पतालको रुपमा विकास भइरहेको इटहरी अस्पताललाई आगामी बैसाख १ गतेदेखि २४ सै घण्टा सेवा दिने हस्पिटलको रुपका विकास गर्ने निर्णय पनि गरिएको छ ।
विशेषज्ञ सेवा सहित २०८० बैशाख पहिलो हप्ताबाट इटहरी अस्पताललाई २४ सै घण्टा सञ्चालन गर्न लागेको इटहरी उपमहानगरले जनाएको छ ।
कार्यपालिकाको बैठकले हस्पिटललाई २४ सै घण्टा सञ्चालनका लागि आवश्यक पर्ने प्रयोगशाला, औषधि बिक्री कक्ष, भौतिक पुर्वाधार, उपकरण, औषधि लगायतका स्वास्थ्य सामाग्री छोटो प्रक्रियाद्धारा खरिद गर्ने निर्णय समेत कार्यपालिकाले गरेको छ ।
प्रकाशित मिति: २०२३-०४-०८ , समय : १८:४४:३९ , २ वर्ष अगाडि