रेमिट्यान्स व्यवस्थित गर्न नीतिगत सुधारका लागि सरकार तयार छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् ।

प्रवासी नेपाली मञ्च अमेरिकाले शनिबार गरेको ‘रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल’ विषयक कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्र्याउन र उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने अनुकूल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताए ।

अर्थमन्त्री पौडेलले भने, ‘रेमिट्यान्स जति जेनरेट हुने गरेको छ, त्यसको ठूलो हिस्सा लिगल च्यानलबाट भित्र्याउन सकेका छैनौं । लिगल च्यानलबाट देशभित्र भित्र्याउनका लागि लिनुपर्ने नीति, गर्नुपर्ने निर्णय वा दिनुपर्ने प्रोत्साहनका कार्यक्रम अघि सार्न सरकार तयार छ ।’

रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा, निर्माणको क्षेत्रमा र रोजगारीका नयाँ नयाँ अवसर सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न सक्छौं भन्दै उनले त्यसका लागि नीतिगत र कानुनी क्षेत्रमा देखिएका समस्यालाई परिमार्जन र सुधार गर्दै जाने बताए ।

प्रकाशित मिति: २०२३-०१-२२ , समय : १३:४५:३९ , २ वर्ष अगाडि