संगठन तथा जनताको हितमा हुने काम गर्नलाई कुनै आदेश पर्खिरहनु पर्दैन

सुनसरी । संगठन तथा जनताको हितमा हुने काम गर्नलाई कुनै आदेश पर्खिरहनु नपर्ने निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले बताएका छन ।

आइतबार जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गरि जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिँदै उनले उक्त कुरा बताए ।

निर्देशनकै क्रममा उनले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई आ–आफनो जिम्मेवार एरिया ईलाकाहरुमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न र खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न सिमा क्षेत्रहरुमा कडाईका साथ चेक जाँचको ब्यवस्था मिलाउन समेत निर्देशन दिएका छन ।

उनले कुनै लोभ लालचमा नपरी निस्वार्थ भावनामा जनताको सेवा गर्न, सवारी दुर्घटना न्युनिकरण, सवारी नियम उलंघन गर्ने सवारी साधनलाई कारवाही र सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन हुनका साथै प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गर्न तथा सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्न तथा सदैव प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।
निरिक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभुराम ढकालले सुनसरी जिल्लाको समग्र बस्तुस्थितिका बारेमा निमित्त प्रदेश प्रहरी प्रमुख बास्तोलालाई अवगत गराएका थिए ।

प्रकाशित मिति: २०२३-०४-०९ , समय : १७:२५:४५ , २ वर्ष अगाडि