
काठमाडौं । रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका खोटाङका सोनिल राईको शव नेपाल ल्याइएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा चिउरीडाँडाका ३१ वर्षीय राईको साउदीमा कारको ठक्करबाट गत जेठ ६ गते मृत्यु भएको थियो । तर उनको शव नेपाल ल्याउन भने ६ महिना लागेको हो ।
घटना हुनासाथ परिवारका सदस्यले शवलाई स्वदेश ल्याउन धेरै पहल गरे पनि मेनपावर कम्पनी, नेपाली दूतावासको आलटालका कारण यतिका समय लागेको राईको परिवारले जनाएको छ । ठूलो सपना बोकेर रोजगारका लागि विदेश जाँदा बाकसमा फर्किएका राईको आइतबार राई संस्कार अनुसार दाहसंस्कार गरिएको छ ।

उनी मासिक एक हजार रियल तलब पाउने गरी काठमाडौंको काठमाडौं एचआर सोलुसन प्रालिमार्फत साउदी पुगेका थिए । ड्युटी जानेक्रममा कारले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको आफन्त हीराधन चाम्लिङले बताए ।
राईका श्रीमती जूनकला, पाँच वर्षकी छोरी र अढाइ वर्षका छोरा छन् । श्रीमानको शव आउन ढिलाइ भएपछि जूनकला बच्चा काखी च्यापेर आफन्तसँग पटकपटक मेनपावरको कार्यालय र वैदेशिक रोजगार बोर्डको सचिवालय पुगेकी थिइन् ।
प्रकाशित मिति: २०२३-०१-२३ , समय : ०८:१३:०५ , २ वर्ष अगाडि