
काठमाडौं । सरकारले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको घरजग्गा जफत प्रक्रिया अघि बढाएको छ । ललितपुरको सानेपास्थित डेढ रोपनी जग्गा र त्यसमा बनेको घरलगायत सम्पत्ति जफत हुन लागेको हो । गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले १० वर्षअघिको सर्वोच्च अदालतको फैसलाअनुसार खड्काको सम्पत्ति जफत गर्न लागेको हो ।
विभागका अनुसार एक रोपनी ६ आना एक पैसा एक दाम जग्गा र घर तथा ललितपुरकै अर्को जग्गा पनि आंशिक रूपमा जफत प्रक्रिया अघि बढेको छ । ३० साउन ०६९ मा सर्वोच्चले अकुत सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री खड्कालाई दोषी ठहर गर्दै ९४ लाख जरिवाना र एक वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । फैसलाको पाँच वर्षपछि ०७४ मा खड्काको निधन भएको थियो ।

सो फैसलामा जरिवाना र कैदसँगै स्रोत नखुलेको चल–अचल सम्पत्ति जफत गर्ने उल्लेख भएकोमा सोहीअनुसार फैसला कार्यान्वयन अघि बढेको हो । ‘अदालतबाट फैसला कार्यान्वयनका लागि फाइल आएको छ,’ विभागका महानिर्देशक फणीन्द्रमणि पोखरेलले भने, ‘खुमबहादुर खड्कालगायत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका धेरैको सम्पत्ति जफतसम्बन्धी फैसला कार्यान्वयन अघि बढेको छ ।
सानेपाको घरजग्गाबाहेक ललितपुरकै अर्को जग्गाबाट थप २० लाखबराबरको सम्पत्ति पनि जफत हुने फैसला भएको छ । तर, त्यसमा २० लाखको हिसाब कसरी गर्ने भन्नेमा सरकारी अधिकारी समस्यामा परेका छन् । सामान्यतया अनुसन्धानको अवधिको २० लाख भनेर बुझिने भए पनि फैसलामा प्रस्ट नहुँदा थप सम्पत्ति जफतमा अन्योल देखिएको छ । अकुत आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा स्रोत पुष्टि हुन नसकेको उक्त सम्पत्ति र त्यसबाट बढाएको सम्पत्तिसमेत जफत हुने प्रावधान छ ।
अदालतको फैसलामा भनिएको थियो, ‘रु। ९४,७४,१२२।१३ बराबरको चल–अचल सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० ९१० अन्तर्गतको कसुर गरेको ठहर्छ । सो ठहर्नाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० ९२० अनुसार बिगो र कसुरको मात्रा विचार गरी एक वर्ष कैद र बिगोबमोजिम रु। ९४,७४,१२२।१३ जरिवाना तथा स्रोत पुष्टि हुन नसकेको उक्त सम्पत्ति र दफा ४७ बमोजिम सोबाट बढे–बढाएको सम्पत्तिसमेत जफत भई प्रतिवादीले मन्त्री र सांसदको पदमा रहेको समयमा कसुर गरेको भन्ने देखिँदा दफा २४ बमोजिम थप ६ महिना कैद हुने ठहर्छ ।’
फैसलाको ६० दिनभित्र अदालतमा उपस्थित भएकाले त्यसमा उनले २० प्रतिशत सजाय छुट पाएका थिए । अदालतले शिला शर्मा खड्काका नामको एभरेस्ट बैंकमा रहेको २५ लाख पनि जफत गर्ने फैसला गरेको थियो । त्यस्तै, शिलाकै नाममा ललितपुरको तत्कालीन २ नम्बर वडास्थित कित्ता नम्बर २४९ मा रहेको एक रोपनी ६ आना एक पैसा एक दाम जग्गा पनि स्रोत नखुलेको भन्दै जफत गर्न भनेको थियो । यो खबर आजको नयाँपत्रिका दैनिकमा प्रकाशित भएको छ ।
प्रकाशित मिति: २०२३-०४-१० , समय : ०८:४६:५५ , २ वर्ष अगाडि