रौतहटमा आगलागीबाट २२ घर नष्ट, करोडभन्दा बढी क्षति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रौतहट जिल्लाको माधवनारायण नगरपालिका ४ विसुनपुर्वा मानपुर टोलमा आगलागीबाट २२ वटा घर जलेर क्षति भएको घटना प्रति दुःख व्यक्त गरेका छन ।
अध्यक्ष नेपालले सामाजिक सञ्जालमा घटना प्रति दुःख व्यक्त गर्दै आगलागी नियन्त्रण गर्न तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन सक्रिय रहेका सबैलाई धन्यवाद समेत दिएका छन ।

उनले आगलागी पीडितको पुनःस्थापना तथा दीर्घकालिक व्यवस्थापनका लागि आवश्यक सहयोग गर्न सरकार, सामाजिक संघसंस्था तथा सम्वद्ध सबैमा अनुरोध समेत गरेका छन ।

आइतबार एकैदिन रौतहटका तीन ठाउँमा आगलागी हुँदा २२ घर जलेर नष्ट भएका थिए ।आगलागीबाट एक करोड १६ लाख ३५ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले जानकारी दिए ।

रौतहटको माधवनारायण नगरपालिका, महोरा नगरपालिका र ईशनाथ नगरपालिकामा आइतबार दिउँसो आगलागी भएको हो।

माधवनारायण नगरपालिकामा भएको आगलागीमा १५ वटा घर जलेका छन् । त्यसैगरी महोरा नगरपालिकामा चार र इशनाथ नगरपालिकामा एक एक वटा घर आगलागीबाट नष्ट भएको डीएसपी यादवले जानकारी दिए ।

‘आगलागीमा परेर घरसँगै लत्ताकपडा, अन्नपात, भाँडावर्तन र पशुचौपायासमेत जले पनि मानवीय क्षति भने भएको छैन,’ ।

प्रकाशित मिति: २०२३-०४-१० , समय : २२:१०:३३ , २ वर्ष अगाडि