मिटरब्याज पीडितसँगको आजको वार्ता सकारात्मक

काठमाडौं । सरकारी वार्ता टोली र मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग वार्ता सोमबार सकारात्मक रूपमा टुङ्गिएको छ ।

सरकारी वार्ता टोलीका संयोजक सहसचिव प्रदीपकुमार कोइरालाले उनीहरूका तर्फबाट ल्याइएको ६ बुँदे मागका विषयमा सकारात्मक छलफल भएको जानकारी दिए । आइतबार शान्तिवाटिकामा भएको वार्ता सोमबार भने गृह मन्त्रालयमा भएको थियो ।

‘आजको वार्तामा उनीहरूका माग सुन्ने काम भयो, हामीले टिपोट गरेका छौँ, नीतिगत रुपमा समाधान के गर्न सकिन्छ भनेर छलफल पनि भयो’, कोइरालाले भने, ‘माग कसरी सम्बोधन गर्न सकिन्छ र विकल्प के हुनसक्छ भनेर पनि छलफल भएको छ, उनीहरूले छलफल गरेर आउँछौँ भन्नुभएको छ, भोलि पुनः वार्ता हुनेछ ।’

वार्तामा पीडितहरूले तीन किसिमका माग राखेको कोइरालाले जानकारी दिए । उनका अनुसार एउटा प्रशासनिक, दोस्रो नीतिगत र तेस्रो कानुनी प्रश्नसहितको माग राखेका छन् । त्यसमध्ये पीडकले धम्क्याउने, तर्साउनेजस्ता विषयमा प्रशासनिक रुपमा हल गर्न सकिने र त्यस्ता सूचना प्राप्त हुनेबित्तिकै गृहमन्त्रालयले कारबाही अघि बढाउने भनेर छलफल भएको छ ।

त्यसका अलावा लिखत खारेज गर्नेजस्ता विषयहरू मन्त्रिपरिषद्बाटै निर्णय गर्नुपर्नेजस्ता खालका छन् भने फैसला भएका मुद्दा पुनरावलोकनजस्ता मागहरू कानुनी प्रश्न भएकाले कानुनअनुसार नै सम्बोधन गर्नुपर्ने खालका रहेको पनि कोइरालाले बताए । यसअघि शान्तिवाटिकास्थित मिटरब्याजी पीडितहरू रहेको स्थानमा पुगेर आइतबार पहिलो चरणको वार्ता गरिएको थियो ।

यसअघि मिटरब्याज पीडितको पहिलो समूहसँग गृह मन्त्रालयले चैत १८ गते पाँच बुँदे सहमति गरेको थियो । त्यो सहमति अपूरो भएको भन्दै अहिलेका मिटरब्याजी पीडित सङ्घर्ष समितिले ६ बुँदे माग राखेका छन् । उनीहरूले १८ जिल्लाका संयोजक रहने गरी १९ जनाको आजै वार्ता टोली गठन गरेका छन् ।

मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषण गर्नुपर्ने, आफूहरू विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागारमा रहेकाहरूको रिहाइ, बैङ्किङ कसुरका मुद्दा खारेज तथा मिटरब्याजीहरूको सम्पत्ति छानबिन लगायतको माग आफूहरूको रहेको सङ्घर्ष समितिका संयोजक अवदेश कुशवाहले बताए । रासस

प्रकाशित मिति: २०२३-०४-१० , समय : २२:३४:१५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्