
इनरुवा । सुुनसरी सदरमुकाम इनरुवा ७ स्थित एक घरमै यौनधन्दा चलाएको आरोपमा दुहबी प्रहरीले तीन जनालाई पक्राउ गरेका छन ।
सुनसरीको इनरुवा ७ स्थित दुहबी–इनरुवा सडक खण्ड छेउको जमुवा चौकको एक घरमा मदिरा पसलको आडमा केही बर्षदेखि यौनधन्दा संचालन गर्दै आएको जनगुनासोको आधारमा वर्ष ४९ कि घरधनी उषा चौधरी लगायत तीन जनालाई शनिबार दिउँसो पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा इटहरी बस्ने वर्ष ३३ कि एक युवती रहेकी छिन भने गढी गाउँपालिका वडा नम्बर २ बस्ने वर्ष ५० को जलेश्वर बिक रहेका छन । उनीहरुलाई गोप्य सूचना र सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरेको बताइएको छ ।
दुहवी–इनरुवा सडक खण्डमा पछिल्लो समयमा होटलहरुको कारोवार फस्टाउँदा एकपछि अर्को गरी नयाँ नयाँ ब्यवसायहरु थप हुने क्रम बढेकोले स्थानीयहरु यो क्षेत्रका अधिकांश खाजा र मदिरा विक्री वितरणका नाममा खुलेका होटलहरुमा यौनको कारोवार हुने गरेको आशंका गरेका छन ।
स्थानीयहरु भन्छन, ‘ दिनदिनै नयाँ नयाँ होटलहरु खुलेका छन । नयाँ नयाँ युवा युवतीहरु आउने जाने क्रम बढेको छ । खानेकुरा खासै राम्रो पाइदैन तर पनि किन यहाँ आउनेहरुको संख्या बढेको छ । यौनधन्दाको कारण यस्तो भएको अनुभव हामीलाई हुन थालेको छ ।’
प्रकाशित मिति: २०२३-०४-११ , समय : ०६:१३:२८ , २ वर्ष अगाडि