फोहोरमा सङ्घीय–स्थानीय सरकारबीच टकराव

काठमाडौँ । सङ्घीय सरकार र काठमाडौँ महानगरपालिकाबीचको टकरावका कारण सङ्घीय राजधानी काठमाडौँको अति विशिष्ट कार्यालयहरूको फोहोर व्यस्थापन ठप्प भएको छ।

आपसी टकरावका कारण मुलुकको राष्ट्रपति कार्यालय, प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, मन्त्री निवास, प्रतिनिधि सभा सभामुखको निवास, राष्ट्रिय सभा अध्यक्षको निवास, प्रधानन्यायाधीश निवासको फोहोर तीन दिनदेखि व्यवस्थापन हुन सकेको छैन।

यी अति विशिष्ट कार्यालयको फोहोर व्यवस्थापनको जिम्मा लिएका कम्पनीलाई काठमाडौँ महानगरपालिकाले फोहोर नउठाउन निर्देशन दिएपछि कम्पनीले तीन दिनदेखि फोहोर व्यवस्थापन गर्न छोडेको हो। परिवर्तन सेवा प्रालि भन्ने संस्थाले यी अति विशिष्ट कार्यालय र निवासको फोहोर व्यवस्थापन गर्दै आएको छ।

परिवर्तन सेवा प्रालिको प्रमुख व्यवस्थापक मित्रप्रसाद घिमिरेले काठमाडौँ महानगरपालिकाबाट राष्ट्रपतिको कार्यालय तथा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलगायत अति विशिष्ट कार्यालय तथा निवासको फोहोर व्यवस्थापन नगर्न आएको निर्देशनपछि आफूहरूले फोहोर व्यवस्थापनको काम बन्द गरेको स्पष्ट पारे ।

काठमाडौँ महानगरपालिकाबाट यी कार्यालयको फोहोर उठाएमा बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न नदिने तथा व्यवसाय इजाजतपत्रसमेत रद्द गर्ने चेतावनी आएपछि तरवारको धारमा टेकेर काम गर्न नसक्ने भएकाले बाध्य भएर आफूहरूले फोहोर व्यवस्थापन कार्य बन्द गर्नुपरेको उनले बताए ।

फोहोर उठाउनका लागि सोमबार राष्ट्रपतिको कार्यालयबाट फोन आए पनि आफूहरूले फोहोर व्यवस्थापन गर्न नसकेको प्रमुख व्यवस्थापक घिमिरेको भनाइ छ। तीन दिनदेखि फोहोर व्यवस्थापन हुन नसक्दा मुलुकको सर्वोच्च निकाय राष्ट्रपतिको कार्यालय दुर्गन्धित बन्दै गएको छ। २५० जना जनशक्ति रहने राष्ट्रपतिको कार्यालयमा उत्सर्जन भएको फोहोरको व्यवस्थापन हुन नसक्दा त्यहाँको वातावरण नै प्रदूषित बन्दै गएको हो।

राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले चैत २५ गतेदेखि नै कार्यालयमा उत्सर्जन भएको फोहोर उठ्न नसकेको बताए । ठूलो जनसङ्ख्यामा कर्मचारी, सुरक्षा निकायलगायतका जनशक्ति रहने राष्ट्रपति कार्यालयमा दैनिक अधिक मात्रामा फोहोर उत्सर्जन भए पनि तीनरचार दिनदेखि फोहोर उठ्न नसक्दा फोहोरको डङ्गुर थुप्रिएको सहायक प्रवक्ता पौडेलको भनाइ छ।

उनका अनुसार कार्यालय समयमा २५० जना जनशक्ति कार्यरत रहने राष्ट्रपति कार्यालयमा कार्यालय समयबाहेक पनि १५० जना त्यहीँ नै बस्छन । तीनरचार जनाको घरपरिवारमा एकरदुई दिन फोहोर नउठ्दा त्यति समस्या हुन्छ भने त्यत्रो जनशक्ति रहेको राष्ट्रपति कार्यालयमा कति फोहोर थुप्रिएको होला, कति गाह्रो भएको होला ? उनले भने ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भने बाध्य भएर सिंहदरबारको फोहोर नउठाउने निर्णय गर्नुपरेको दाबी गरेका छन । फेसबुकलगायतका उहाँसम्बद्ध सामाजिक सञ्जालमा उनले विभिन्न पदाधिकारीसँग वार्ता गर्दा पनि समस्या समाधानतर्फ पहल नभएपछि “लहडमा अनायासै गरिएको निर्णय नभई बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरबाहीको अहिलेसम्मको निष्कर्ष” रहेको उल्लेख गरेका छन ।

उनले गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, भौतिक यातायात, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा मन्त्रालय, खानेपानी मन्त्रालय, भूमिसुधार मन्त्रालय, सङ्घीय मामिला मन्त्रालय र कृषि मन्त्रालयलगायतका क्षेत्राधिकारका समस्यामा कुरा गरेको तर काम नभएको दाबी गरेका छन । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको छ ।

प्रकाशित मिति: २०२३-०४-११ , समय : ०६:३३:१७ , २ वर्ष अगाडि