बीपी कोइराला प्रतिष्ठान धरानका उपकुलपति गिरीमाथि अख्तियारको मुद्दा

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीविरुद्व पदीय मर्यादा विपरीत काम गरेको आरोपमा अख्तियारले मुद्धा दायर गरेको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा प्रतिष्ठानको उपकुलपतिजस्तो पदमा नियुक्ति भइसकेपछि नियमित काम गर्नेक्रममा अरुले विश्वास गरोस् भनी बदनियतसाथ सो काम गरेको जनाइएको छ ।

आरोपित डा. गिरीलाई बदनियतसाथ कुनै पनि आधिकारिक निकायबाट प्राप्त नगरेको ओहदा पाए भनी अरुले विश्वास गर्नेगरी प्रोफेसर पद प्रयोग गरेको देखिएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १५ बमोजिम भ्रष्टाचार मुद्दा दायर गरिएको छ भन्ने व्यहोरा उल्लेख छ ।

प्रतिवादी डा. ज्ञानेन्द्रमान सिंह कार्कीले गिरीलाई प्रोफेसर पदको अनुमोदनका लागि काठमाडौं विश्वविद्यालयमा सिफारिस गर्न मतियारको भूमिका खेलेको आयोगले जनाएको छ । आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा सो आरोपपत्र दायर भएको जनाएको हो ।

प्रकाशित मिति: २०२३-०१-२३ , समय : २२:०७:४३ , ३ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्