अन्नपूर्णमा आरोहण सुरु

म्याग्दी । अन्नपूर्ण प्रथम हिमालमा चालु वर्षको वसन्त यामको आरोहण सुरु भएको छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । सेभेन समिट ट्रेकका पासाङ नुर्वु शेर्पाको टोलीले शनिबार दिउँसो ११ः३५ मा अन्नपूर्णको सफल आरोहण गरेको हो ।

सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईँले तीन जना नेपाली, एक जना पाकिस्तानी र एक जना अष्ट्रेलियन अन्नपूर्णको चुचुरोमा पुगेको जानकारी दिए । नुर्वुको टोलीले बनाएको बाटो प्रयोग गरेर अन्य आरोहीहरूको टोली पनि अन्नपूर्णको चुचुरोमा पुग्ने क्रममा छन् ।

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँच वटा समूहका ४५ जनाले अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल संसारको दशौँ अग्लो हिमाल हो । अन्नपूर्ण आरोहणका लागि विभिन्न कम्पनीबाट पुगेका आरोही र पर्यटकको आधार शिविरमा चहलपहल छ ।रासस

प्रकाशित मिति: २०२३-०४-१६ , समय : ०७:२०:५० , २ वर्ष अगाडि