
इटहरी । प्रदेश नामांकनको विरुद्धमा भएको आन्दोलनका घाइतेभई उपचारको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजेहाङ)को एक महिना पछि अन्त्येष्टी हुने भएको छ ।
‘पुनः नामाकंन संयुक्त संघर्ष समिति’ले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानका आधारमा नामांकनको माग सम्बोधन र लाजेहाङलाई शहीद घोषणा नगरेसम्म अन्त्येष्टि नगर्ने भन्दै शव बुझ्न मानेको थिएन । निरन्तरको दवाव पछि उनलाई शहिद घोषणा गर्दै १० लाख क्षतिपुर्ती दिने निर्णय सरकारले गरेको थियो ।

संघीय सरकारले लाजेहाङलाई शहीद घोषणा गर्ने तथा क्षतिपुर्ती दिने निर्णय गरेपछि आन्दोलनरत पक्षले दोस्रो चरणको कार्यक्रमअन्तर्गत चैत १५ गते विराटनगरको रोडशेषमा लाजेहाङको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि राख्ने र अन्तिम संस्कार गर्ने बताइएको छ ।
प्रदेश एक पुनःनामांकन संघर्ष समितिले लाजेहाङ्गको शव श्रदाञ्जलीका लागी विराटनगरको रोडशेष चोकमा राख्ने भएको हो । कोशी नामकरणको विरोधमा विराटनगरमा चैत ५ गते भएको आन्दोलनमा उनी घाइते भएका थिए । घाइते लाजेहाङको चैत १० बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा निधन भएको थियो ।
गत फागुन १७ गते प्रदेशको नामकरण गरिएको थियो । पहिचानवादीहरूले ‘पुनः नामाकंन संघर्ष समिति’ नै बनाएर आन्दोलन गरिरहेका छन् । उनीहरूले ११ गतेदेखि विराटनगरकेन्द्रित आन्दोलन गर्ने निर्णय गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरू समेत घोषणा गरेका छन् ।
प्रकाशित मिति: २०२३-०४-१७ , समय : १९:१८:३२ , २ वर्ष अगाडि