
काठमाडौ । भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गर्ने गिरोहमा संलग्न ‘ठूला माछा’ पनि कानुनको पन्जामा पर्न थालेका छन् । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । फरार रहेका एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रहरीको खोजीमा छन् ।
बिचौलियासँग पैसा लिएको तथा गृहमन्त्री हुँदा चरणबद्ध रूपमा विभिन्न नीतिगत निर्णय गरेर ठगीमा सघाएको स्थापित भएपछि खाणलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मन्त्रीबाट हटेको साढे चार महिनापछि उनी प्रहरी हिरासतमा पुगेका छन् । ११ पुस ०७९ सम्म उनी गृहमन्त्री थिए ।

प्रहरीका अनुसार खाणविरुद्धका चार बलिया प्रमाण फेला परेका छन् । पहिलो उनी गृहमन्त्री हुँदा शरणार्थीसम्बन्धी कार्यदलको गोप्य प्रतिवेदन किर्ते गरिएको छ । दोस्रो, ठगीमा सघाएबापत उनले बिचौलियाबाट एक करोड २४ लाख ५० लिएको अभियुक्तको बयान छ । तेस्रो, यही प्रकरणमा पक्राउ गरिएका सचिव टेकनारायण पाण्डेले पनि खाणलाई बुझाउन बिचौलियासँग आर्थिक लेनदेन गरेको स्वीकार गरेका छन् । र चौथो, बिचौलियालाई फाइदा हुने गरी खाणले मन्त्रालयबाट पटक–पटक विभिन्न निर्णय गराएका छन् । त्यस्तै, बिचौलिया पक्राउ परेपछि खाणको प्रतिनिधि बनेर पैसा फिर्ता गर्न गएका पूर्वसांसद आङटावा शेर्पाको विषयमा पनि प्रहरीले छानबिन गरिरहेको छ । त्यो पुष्टि गर्न सके थप बलियो प्रमाण हुने प्रहरी अधिकारीहरू बताउँछन् ।
खाणलाई पक्राउ गर्ने क्रममा निकै दुःख झेल्नुपरेको प्रहरी अधिकारीले बताएका छन् । मैँजुबहालस्थित निवासबाट सुरुमा प्रहरीले उनका पिए नरेन्द्र केसीलाई पक्राउ गरेको थियो । आफू पनि पक्राउ पर्ने संकेत पाएपछि खाण ढोका थुनेर बसेका थिए । प्रहरीले बल प्रयोग गरेपछि मात्रै खाणले ढोका खोलेका थिए । पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी मनोज केसी आफैँ गएका थिए । परिसरका इन्स्पेक्टर राजन लामाले आफूसँग हिँड्न आग्रह गर्दा खाणले उनलाई रिसाएर धकेलेका थिए । ‘बल्लतल्ल आफ्नै गाडीमा प्रहरी कार्यालय जान तयार भए,’ पक्राउ टोलीमा रहेका एक अधिकारीले भने, ‘उहाँलाई आफू पक्राउ पर्छु भन्ने रहेनछ, एक्कासि प्रहरी आएपछि आक्रोशित हुनुभयो ।’
टेकुस्थित प्रहरी परिसर पुगेपछि जिल्ला परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीलाई ‘कंग्र्याचुलेसन एसएसपी सा’ब १’ भन्दै खाणले रिस पोखेको स्रोत बताउँछ । अदालतबाट पक्राउ पुर्जी जारी गर्दा सूचना चुहिने डरपछि प्रहरीले आफैँ जरुरी पक्राउ पुर्जी दिएर पक्राउ गरेपछि मात्र अदालतबाट पक्राउ पुर्जी लिएको हो । यसअघि टोपबहादुर रायमाझी फरार भएपछि प्रहरीले यस्तो तरिका अपनाएको हो ।
यो ठगी मुद्दामा एकपछि अर्का हाई प्रोफाइल तानिएका छन् । यसअघि एमाले सचिव रायमाझीसहित उनका छोरा सन्दीप, सचिव टेकनारायण पाण्डेको संलग्नता पुष्टि भइसकेको छ । अन्य सातजना बिचौलियालाई पनि प्रहरीले हिरासतमा राखेको छ । अन्य हाई प्रोफाइलको संलग्नताबारे जिल्ला प्रहरी परिसर काठमाडौंका दानबहादुर कार्की भन्छन्, ‘अन्य व्यक्तिहरूमाथि पनि प्रमाण खोज्ने क्रम जारी छ ।’
तत्कालीन गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीले भने ठगी प्रकरणमा पाँच लाख रुपैयाँ लिएको खुलेको छ । उनलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सचिव टेकनारायण पाण्डेको मोबाइलको विवरण सो कुरा उल्लेख छ । प्रहरी स्रोतका अनुसार ‘नरेन्द्रले पनि आस गर्छ, त्यसलाई पाँच लाख फालिदिनुपर्ला’ भन्ने च्याट विवरण छ । सोहीअनुसार पैसा पनि दिएको पक्राउ परेका अभियुक्तको दाबी छ । केसी चितवनको एक विद्यालयका प्रधानाध्यापक हुन् । तर, शक्तिको बलमा उनी विद्यालय नगई राजनीतिमा सक्रिय छन् । खाणको कार्यकालमा मन्त्रालयमा सबैभन्दा धेरै बेथिति केसीले नै गरेको कर्मचारीहरू बताउँछन् ।
काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीका अनुसार खाण र केसीलाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ । खाणलाई टेकु र केसीलाई प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा राखिएको छ ।
खाणविरुद्धका चार प्रमाण
२९ असार ०७८ मा गृहमन्त्री भएका बालकृष्ण खाणको कनेक्सन बिचौलिया समूहसँग गृह मन्त्रालयमै भएको हो । मन्त्री भएको केही महिनामै उनले भुटानी शरणार्थीका नाममा अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहलाई सघाएको विभिन्न मितिमा भएका निर्णयले देखाउँछ ।
मन्त्री भएको अढाई महिनामै खाणले १४ असोज ०७८ मा गृहसचिवस्तरीय निर्णयबाट झापाका सहायक सिडिओको अध्यक्षतामा छुट शरणार्थीको विषयमा अर्को समिति गठन गराएका थिए । त्यति मात्र होइन, दुई महिनापछि मन्त्रिपरिषद्मै उनले त्यससम्बन्धी प्रस्ताव लगेर पारित गराएका थिए । १३ मंसिर ०७८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले बिचौलिया गिरोहलाई फाइदा हुने गरी शरणार्थीलाई स्वेच्छिक स्वदेश फिर्ताका लागि कूटनीतिक पहल गर्ने तथा तेस्रो देश पुनस्र्थापनाका लागि परराष्ट्र मन्त्रालयमार्फत विकास साझेदार राष्ट्रहरू र अन्तर्राष्ट्रिय संस्थालाई अनुरोध गर्नेलगायतका निर्णय गरेको थियो । त्यही निर्णयका आधारमा बिचौलियाहरूले सर्वसाधारणलाई विश्वासमा लिँदै थप पैसा उठाएका थिए ।
मन्त्रिपरिषद्बाट निर्णय भएको पाँच दिनपछि १८ मंसिर ०७८ मा गृहले निर्णय कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय झापा र मोरङलाई पत्राचार गरेको थियो । २७ जेठ ०७९ मा गृहमन्त्रीस्तरबाट भएको निर्णयले त खाणको संलग्नता पुष्टि नै गर्ने प्रहरी अधिकारीहरू बताउँछन् । त्यस दिन सहायक सिडिओ नेतृत्वको समितिले आवश्यक परे उपसमिति गठन गर्न सक्ने र पन्थी कार्यदलको प्रतिवेदनमाथि ठोस राय र सुझाव पेस गर्ने निर्णय गरेको थियो ।
‘बिचौलियासँग एक करोड २४ लाख ५० हजार लिएको केही दिनमै सो निर्णय भएको देखिन्छ,’ प्रहरी स्रोत भन्छ, ‘अभियुक्तको बयानअनुसार मन्त्रालयका निर्णयहरू मिल्दै गएको आधारमा हामीले पक्राउ गर्ने निर्णय गरेका हौँ ।’ साथै पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले पनि आफूले त्यससम्बन्धी निर्णयहरू मन्त्री खाणकै निर्देशन र समन्वयमा गरेको बयान दिएका छन् ।
कांग्रेस युवा नेताहरूले गृहमन्त्रीलाई भने– अघि बढ्नुस्, हाम्रो साथ रहन्छ
कांग्रेसका दुई दर्जन युवा नेताले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर शरणार्थीका नाममा भएको ठगी प्रकरणमा सरकारले लिएको कदमको प्रशंसा गर्दै ऐक्यबद्धता जनाएका छन् । संस्थापनइतरका नेताहरू गुराज घिमिरे, गोविन्द पोखरेल, मधु आचार्य, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, नरेश यादवलगायतका नेता मन्त्रालय पुगेर मन्त्रीलाई भेटेका थिए । उनीहरूले नक्कली शरणार्थी प्रकरणको फाइल खोलेर ठूला नेताहरूलाई पक्राउ गर्ने साहस गरेकोमा गृहमन्त्री श्रेष्ठलाई धन्यवाद दिए । यो खबर आजको नयाँपत्रिका दैनिकमा प्रकाशित भएको छ ।
प्रकाशित मिति: २०२३-०५-११ , समय : ०७:०४:३७ , २ वर्ष अगाडि