
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको आफ्नै हिरासत कक्ष छ । जहाँ परिसरले अभियुक्तहरूलाई थुन्ने गर्छ । तर, नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भने परिसरले बेग्लै बसाइको व्यवस्था गरिदिएको छ ।
खाणलाई परिसरको हिरासतमा नराखी डिएसपी भरतबहादुर शाहको कार्यकक्षमा बस्ने व्यवस्था मिलाइएको हो । शाह तेस्रो वरीयताका अधिकृत हुन् । प्रहरीमा वरीयताअनुसार कार्यरत अधिकृतको कोठा तोकिन्छ । कोठामा सुविधा पनि सोहीअनुसार हुन्छ । जसअनुसार परिसरस्थित १ नम्बर कोठा कार्यालय प्रमुख एसएसपी दानबहादुर कार्कीको कार्यकक्ष हो । २ नम्बर कोठामा एसपी सीताराम रिजाल बस्छन् ।

खाणलाई राख्ने भएपछि प्रहरीले शाहको कार्यकक्षमा राखिएका टेबुल–कुर्सी खाली गरेर सुत्ने खाटको व्यवस्था गरिदिएको छ । कोठामा डिएसपीका लागि राखिएको सोफा भने हटाइएको छैन । फराकिलो कोठामा खाण एक्लैका लागि बस्ने प्रबन्ध मिलाइएको छ ।
खाणलाई ओड्ने–ओछ्याउने भने घरबाटै आएको छ । खाना पनि घरबाटै ल्याइन्छ । पानी भने प्रहरीले कोठामै उपलब्ध गराएको छ । नित्यकर्म तथा ‘फ्रेस’ हुनका लागि उनलाई जुनियर प्रहरी अधिकृतको ट्वाइलेट तथा बाथरुम प्रयोग गर्न दिएको छ । अति आवश्यकबाहेकका व्यक्तिसँग भेटघाट रोकेको छ । प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले भने, ‘उहाँ परिसरकै हिरासतमा हुनुहुन्छ । स्वास्थ्य र सुरक्षाका कारण उहाँका लागि केही विशेष प्रबन्ध गरिएको हो । यसमा अन्यथा केही होइन ।’
परिसरले अन्य सर्वसाधारण अभियुक्तका लागि एउटा मात्रै थुनुवा कक्षको प्रबन्ध गरेको छ । जहाँ दैनिक कम्तीमा ४० थुनुवा रहने गर्छन् । उनीहरू बस्ने कक्ष साँघुरो त छ नै, हावा आउजाउ गर्ने ‘भेन्टिलेसन’को समेत प्रबन्ध छैन । त्यसो हुँदा कोठा सधैँ उकुसमुकुस हुने गर्छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।
प्रकाशित मिति: २०२३-०५-१२ , समय : ०६:३२:०६ , २ वर्ष अगाडि