
काठमाडौं । शनिबार नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी देखिएकाहरूलाई कारबाही गर्न माग गर्दै देशभरि प्रदर्शन भएको छ। काठमाडौंको माइतीघर र नक्साललगायत जिल्ला(जिल्लामा भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध प्रदर्शन भएको हो।
कार्यक्रममा सहभागीहरुले अब भ्रष्टाचार सहनौं भ्रष्ट नेता चाहन्नौं, दाइभाउजु मात्र होइन, भ्रष्टाचारी भए मेरै आमाबाबुलाई पनि कारबाही गर, करोडौंको महल तिमीलाई कसले किन्दियो, नेताहरुको घडीमा तस्करको ब्याट्री, सरकार भ्रष्टाचारी खोज्न खट्ने कि पछि हट्नेलगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए।

सोही आन्दोलनमा सहभागी नेताहरुलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोश पोखेका छन्। मेयर शाहले भोट दिएर नेता बनाको आन्दोलन गर्नलाई नभई सिधैं कार्बाही गर्न र निती बनाउनलाई भएको उल्लेख गरेका छन्। उनले भ्रष्टाचारविरुद्धको आन्दोलनको नाममा सडक नाटक नदेखाउन आग्रह गरे।
‘भ्रष्टाचारविरुद्धको आन्दोलन ? को नेता हो थाहा छ ? घर कहाँ हो थाहा छ ?’ सामाजिक सञ्जालमार्फत उनले प्रश्न गर्दै भनेका छन्, ‘सिधैं लगेर बागमतीमा चोपाल्नुस्। यस्तो सडक नाटक धेरै देखिसक्यौं हामीले। पत्याउदिनँ म चाँहि। तपाईँहरुलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधैँ कारबाही गर्नलाई हो, सिधैं कारबाही गर्ने नीति बनाउनलाई हो।’
शनिबारको प्रदर्शनमा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, हिसीला यमी, सांसद सुमना श्रेष्ठलगायतका राजनीतिक दल नेताहरु सहभागी भएका थिए। प्रदर्शनमा उनीहरूसहित धेरै नागरिक पार्टीको झण्डाबिना स्वस्फूर्त रूपमा सहभागी भएका थिए।
प्रदर्शनको क्रममा कार्यक्रम स्थलमै पूर्वप्रधानमन्त्री डा। भट्टराई सहभागी भइरहेको समयमा भने एक प्रदर्शनकारीले उनीविरुद्ध आक्रोश पोखेका थिए।‘जसले छोरीलाई अमेरिका राखेर पढाएर हाम्रा भाईबहिनीलाई जबरजस्ती उठाएर मार्यो ? त्यसले आएर भ्रष्टाचारविरुद्ध कुरा सिकाएर हुन्छ।’उनले भट्टराईलाई प्रश्न गर्दै भने, ‘भ्रष्टाचार भनेको पैसा मात्र खानु हो ? बाबुराम भट्टराईको परिस्कृत रुप हो बालकृष्ण खाणहरु, बाबुराम भट्टराई जस्ता हिसिला यमी हरुको परिस्कृत रुप हो बालकृष्ण खाण र मञ्जु खाणहरु। यो अवस्था होइन व्यवस्था परिवर्तन गर्नुपर्छ। यिनीहरुको विरुद्धमा जबसम्म उठ्दैनौं हामी बाहिरकाले हेप्छन्। हिजो हिसिला यमीहरुविरुद्ध आन्दोलन आएको होइन ? स्वतन्त्र अभियान चल्नुपर्यो।’
भूटानी शरणार्थी प्रकरणलाई भित्रभित्रै मिलाउन खोजिएको भन्दै नागरिकहरुले विरोध गर्दै आइरहेका छन्। भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे हिरासतमा छन् भने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन्।
पछिल्लो समयमा रकम दिएको अडियो सार्वजनिक हुँदासमेत प्रहरीले शीर्ष नेताका श्रीमतीलाई पक्राउ नगरेको, भ्रष्टाचारको अन्य काण्डहरु छानबिन नगरेको भन्दै नागरिकहरुले आपत्ति जनाएका छन्। यो खबर आजको अन्नपूर्ण दैनिकमा प्रकाशित भएको छ ।
प्रकाशित मिति: २०२३-०५-१४ , समय : ०७:१८:५० , २ वर्ष अगाडि