गाउँपालिका अध्यक्ष मोक्तानको सबै परीक्षा रद्द

सिन्धुली । मरिण गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)को कक्षा १२ को सबै परीक्षा रद्ध गरिएको छ । माध्यामिक शिक्षा परीक्षा समन्वय समितिको शनिबार बसेको बैठकले उनले दिएका सबै परीक्षा रद्द गर्ने निर्णय गरेको हो । उनले यो वर्ष दिएको र दिन बाँकी रहेका सबै परीक्षा रद्द गर्ने निर्णय गरेको समितिले जनाएको छ ।

परीक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको अध्यक्षतामा बसेको बैठकले कपिलाकोट मावि परीक्षा केन्द्रबाट परिक्षा दिएका मोक्तानको शुक्रबार दिएको सामाजिक विषयको परीक्षामा अनुगमनका क्रममा २२००३१२७ सिम्बल नम्बरका २ वटा कपी फेला परेको थियो ।

उनलाई पुस्तकालय कोठामा एकान्तमा परीक्षा दिलाएको सूचनाको आधारमा समितिले अनुगमन गर्दा दुई वटा उत्तर पुस्तिका फेला पारेको थियो । सोहि दिन केन्द्राध्यक्ष विष्णुमाया योञ्जनले सो कपी रद्द गर्न माध्यामिक शिक्षा परीक्षा बोर्डलाई सिफारिस गरेर पठाएकी थिईन । समितिले उक्त सिम्बोल नम्बरका सबै कपी रद्द गर्न परीक्षा बोर्डलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै समितिले केन्द्राध्यक्षले परीक्षालाई व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्न नसकेको भन्दै केन्द्राध्यक्ष विष्णुमाया योञ्जन, सहायक केन्द्राध्यक्ष शुक्रबहादुर माझी र निरिक्षक गोकर्ण विक्रम शाहलाई परीक्षा अवधिभर परीक्षासँग सम्बन्धित कुनै पनि काम गर्न नदिने गरि जिम्मेवारीबाट हटाएको छ ।

समितिले बाँकी परीक्षा सञ्चालन गर्नका लागि उक्त परिक्षा केन्द्रमा मावि द्धितिय श्रेणीका शिक्षक खेमहरी बराललाई केन्द्राध्यक्ष नियुक्त गरेको छ ।

यसैबीच नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले परीक्षाको मर्यादा उलंघन गर्ने सम्बन्धित सवैलाई कारवाहि गर्न प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेको छ । शनिबार प्रमुख जिल्ला अधिकारीलाई अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रसान्त लुंंगेलीले लिखित माग गरेका हुन । अनेरास्ववियुले नक्कली परीक्षार्थी राखि परीक्षा दिलाएको विषयले सिंगो विद्यार्थीको स्वाभिमानमा आँच पुगेको भनेको छ ।

गाउँपालिका अध्यक्ष जस्तो व्यक्तिले पदीय मर्यादा समेत ख्याल नगरि गरेको गैह्र कानुनी कार्य अक्ष्यम्य रहेको अनेरास्ववियुले उल्लेख गरेको छ । गाउँपालिका अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिले आफ्नो मातहतको कार्य क्षेत्र भित्र गरेको गैह्र कानुनी कार्यले शिक्षा क्षेत्रमा नै गम्भिर प्रश्न चिन्ह खडा गरेको अनेरास्ववियुले उल्लेख गरेको छ ।

शिक्षा ऐन, २०२८ को दफा १७ को १ (क) ले प्रश्नपत्रको गोपनीयता भंग गरेमा, अरुको तर्फबाट परीक्षा दिएमा, परीक्षाको मर्यादा भंग हुने अन्य कुनै काम गरेमा ६ महिना कैद १ लाख जरिवानासम्म हुने कानुनी ब्यवस्था छ । तर अध्यक्षको साटोमा परिक्षा दिने व्यक्ति, परीक्षाको मर्यादा भंग हुने गरि सेटिङ मिलाउने केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष र स्वयम परीक्षार्थीलाई समेत कारवाहिको दायरामा ल्याईएको छैन ।  । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।

प्रकाशित मिति: २०२३-०५-१५ , समय : ०७:१२:०१ , २ वर्ष अगाडि