राज्यविरुद्धको अपराध मुद्दाको पनि तयारी गर्न सरकारी वकिलको निर्देशन

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले शरणार्थीका नाममा ठगी धन्दामा संलग्न अभियुक्तविरुद्ध राज्यविरुद्धको अपराधमा पनि मुद्दा चलाउने गरी तयारी गर्न प्रहरीलाई निर्देशन दिएको छ । मुलुकी अपराध संहिता, २०७४ को भाग २ परिच्छेद १ को दफा ५१ प्रतिकूल हुने गतिविधिमा संलग्न रहेकाले उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधमा पनि मुद्दा चल्ने सरकारी वकिल कार्यालयको निष्कर्ष छ ।

प्रहरीले अहिले संगठित अपराध र ठगी कसुरअन्तर्गत म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अघि बढाइरहेको छ । मुलुकी अपराध संहिता, २०७४ को भाग २ परिच्छेद १ को दफा ५१ को उपदफा १ मा राष्ट्रहित प्रतिकूल हुने कुनै काम गर्नु वा गराउनु बन्देज गरिएको छ । सोही दफाको उपदफा २ ९क०मा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक वा प्रादेशिक अखण्डता, राष्ट्रियता, स्वाधीनता, स्वाभिमान वा नेपालको अन्तर्राष्ट्रिय छविउपर अपमान हुने, होच्याउने वा घृणा वा द्वैष फैलाउने कार्य राज्यविरुद्धको अपराध हुन् ।’

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दा संगठित अपराध र ठगी कसुर मात्र नभई राज्यविरुद्धको पनि अपराध रहेको सरकारी वकिल कार्यालयको निष्कर्ष छ । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ अभियुक्तविरुद्धको बयान चलिरहेको छ । उनीहरूविरुद्ध अनुसन्धान जारी छ । हालसम्मको बयान तथा प्राप्त प्रमाण सरसर्ती हेर्दा उनीहरूले राज्यविरुद्धकोे अपराध पनि गरेजस्तो देखिन्छ । त्यसैले उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधमा पनि मुद्दा चलाउने गरी तयारी गर्न प्रहरीलाई भनेका छौँ,’ जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने ।

प्रहरीले घटनामा संलग्न रहेको भन्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, पूर्वसांसद आङटावा शेर्पालाई पक्राउ गरिसकेको छ । त्यसबाहेक धन्दामा संलग्न सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर थुलुङ, नरेन्द्र केसी, रामशरण केसी र गोविन्द चौधरीलाई पनि पक्राउ गरेको छ । बादलका छोरा प्रतीक थापा र नीरज राईलगायत फरार छन् ।

यो ठगी प्रकरणमा एक सय ६ पीडितका २० वटा उजुरी प्रहरीमा दर्ता छ । आफूहरूबाट २३ करोड २५ लाख रकम असुल गरिएको जाहेरीमा उल्लेख छ । राज्यविरुद्धको कसुरमा प्रमाणित भए पाँच वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ । कसुर गर्दा बखत रकम लेनदेन गरेको प्रमाणित भए सबै रकम राज्यले जफत गर्नेछ ।

हालसम्मको अनुसन्धानमा धन्दाका क्रममा इन्द्रजितले साढे पाँच करोड, टोपबहादुरले तीन करोड, बालकृष्ण खाणले एक करोड २३ लाख, प्रतीक थापाले एक करोड, टेकनारायणले ५० लाख, सन्दीपले ४० लाख र नरेन्द्रले पाँच लाख रुपैयाँ बुझेको खुलेको छ । कसुर प्रमाणित भए उनीहरूले असुल गरेको सबै रकम जफत हुनेछ ।

नेपालमा रहेका भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास गराउने कार्य अन्तर्राष्ट्रिय मामिला हो । जुन संयुक्त राष्ट्रसंघ शरणार्थी उच्चायुक्त ९युएनसिएचआर०ले गरिरहेको छ । नेपालीलाई नक्कली शरणार्थी बनाउने कार्यले देशको छवि र प्रतिष्ठामाथि प्रश्न उठाएको सरकारी वकिल कार्यालयको निष्कर्ष छ ।

यसैबीच, अभियुक्तविरुद्ध जिल्ला अदालत काठमाडौंले पुनः तीन दिनको म्याद थप गरेको छ । अनुसन्धान प्रक्रिया अझै निष्कर्षमा पुग्न बाँकी भएको हुँदा प्रहरीले अदालतसमक्ष म्याद थप्न माग गरेको थियो ।

‘अभियुक्तविरुद्ध अनुसन्धान गर्न थप तीन दिनको म्याद पाएका छौँ । यस अवधिमा अनुसन्धानलाई अब निष्कर्षमा लग्छौँ । त्यसपछि अभियोजनका लागि सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेस गर्छौँ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले भने ।

पक्राउ परेका सबैलाई संगठित अपराध र ठगी मुद्दा चल्ने निश्चितजस्तै रहेको स्रोत बताउँछ । साथै केही अभियुक्तविरुद्ध लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा चल्नेछ । ठगी मुद्दामा सात वर्षसम्म र त्यसमा संगठित अपराध मुद्दा जोडिँदा थप ५० प्रतिशत सजाय हुने कानुनी प्रावधान छ । जसअनुसार सबैलाई कम्तीमा साढे १० वर्ष कैद सजाय माग दाबी गर्ने प्रहरी तयारी छ । सार्वजनिक पदमा रहेकालाई थप दुई वर्ष सजाय हुने कानुनी व्यवस्था छ । यसबाहेक अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लेखिपठाउने तयारी छ ।

संगठित अपराध मुद्दामा ६० दिनभित्र मुद्दा चलाउनुपर्ने प्रावधानका कारण १० जेठभित्र यससम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता हुनेछ । उच्चपदस्थ जोडिएकाले मुद्दालाई कमजोर बनाउन प्रहरी तथा सरकारी वकिललाई दबाब दिने चलखेल विभिन्न व्यक्तिबाट भइरहेको स्रोत बताउँछ ।

तीन दिनभित्र प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने
राज्यकै संलग्नतामा नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको संगठित ठगी घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अबको तीन दिनभित्र रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने प्रहरी तयारी छ ।

अनुसन्धान अन्तिम चरणमा पुगे पनि यो प्रकरणका कतिपय पक्ष अझै खुल्न सकेका छैनन् भने थप उच्चपदस्थमाथि पनि प्रहरीले बलिया प्रमाण जुटाउन सकेको छैन । अनुसन्धानको हदम्याद सकिन लाग्दा प्रहरी दबाबमा परेको छ । यद्यपि, पक्राउ परिसकेका व्यक्तिविरुद्ध भने प्रहरीले बलिया प्रमाण जुटाइसकेको छ ।

१३ जना हिरासतमा रहेको यो मुद्दामा १२ जनाको बयान सकिएको छ । प्रहरीमा उपस्थित भएका पूर्वसभासद् आङटावा शेर्पाको बुधबार बयान भएको छ । उनको बयान सकिएपछि अबको तीन दिनभित्र रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयले छिटो प्रतिवेदन बुझाउन प्रहरीलाई आग्रह गरेको छ । यो खबर आजको नयाँपत्रिका दैनिकमा प्रकाशित भएको छ ।

प्रकाशित मिति: २०२३-०५-१८ , समय : ०८:१७:१४ , २ वर्ष अगाडि